
काठमाडौं, असोज ५ ।सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा गरेको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दिइएको मुद्दाको सुनुवाइ आज मंगलबार हुने भएको छ।
प्राधिकरणको निर्देशकबाट हटाइएका हितेन्द्रदेव शाक्यले दायर गरेको रिट निवेदनको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणको इजलासमा पेसी तोकिएको हो। यस्तै मंगलबार सुनुवाइ सूचीमा यो मुद्दा पहिलो नम्बरमा छ।
यसअघि प्राधिकरणमा कार्यकारी निर्देशक रहेका शाक्यलाई सरकारले सोही सुविधा दिनेगरी ऊर्जा आयोगमा सरुवा गरेर घिसिङलाई नियुक्ति गरेपछि शाक्यले आफू अन्यायमा परेको भन्दै अदालत जानु भएको थियो । गत साउन २५ गते बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्ति गर्ने निर्णय गरेको हो।
शाक्यलाई भने जल तथा ऊर्जा आयोगको विज्ञ सदस्यमा नियुक्त गरिएको छ। तर उक्त पदमा बस्ने आफ्नो इच्छा नभएको शाक्यले रिट निवेदनमा उल्लेख गर्नु भएको छ । उहाँले उक्त पदमा कानुनप्रतिकूल सरुवा गरिएको दाबी गर्नुभएको छ ।