Kath Khabar
विश्व बैंकका उपाध्यक्ष द्वारा नेपाल भ्रमण: हरित, उत्थानशील तथा समावेशी विकासमा जोड

काठमाडौं, असोज ११ । कोभिड-१९ महामारीबाट उत्थानशील पुनर्लाभ प्राप्त गर्नका लागि नेपाललाई सघाउने प्रतिवद्धता दोहोर्याउँदै दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष श्री हार्टविग सेफरले आज आफ्नो पाँच दिने नेपाल भ्रमण सम्पन्न गर्नुभएको छ ।

प्रधानमन्त्री शेर बहादुर देउवा तथा अर्थमन्त्री जनार्दन शर्मासँग अलग अलग भेट गर्दे उपाध्यक्ष सेफरले नेपालको कोभिड-१९ खोपको तिव्र विस्तार तथा आर्थिक पुर्नउत्थानमा जोड सहितको कोभिड प्रतिकार्यको सराहना गर्नुभयो । उक्त बैठकहरूले सुधार कार्यान्वयन तथा द्रुत लगानी र नेपालको दिगो विकासका लागि उच्च सहकार्यको महत्वलाई समेत जोड दिएका थिए ।

२०७२ सालको भुकम्प लगायतका विविध आघातहरूबाट थप सशक्तरूपमा माथी उठेको र कोभिड-१९ महामारीबाट पनि थप सबल पुनर्निर्माणका लागि एउटा स्पष्ट नीति सहित काम गरिरहेको नेपाल वास्तवमै उत्थानशीलताको एउटा बलियो दृष्टान्त हो, श्री हार्टविग सेफरले भन्नुभयो । विकासका लागि नेपालको साझेदार हुनुमा विश्व बैंक गर्व गर्छ र नेपालको हरित, उत्थानशील र समावेशी पुनुरूत्थानका लागि हामी सरकार, विकास साझेदारहरु, निजी क्षेत्र, नागरिक समाज, र अन्य प्रमुख सरोकारवालाहरु मिलेर काम गर्न प्रतिवद्ध छौं  । उहाँले थप्नुभयो ।

नेपालको हरित, उत्थानशील र समावेशी विकास सम्बन्धी गत असोज सात गते आयोजना गरिएको उच्च स्तरीय सम्मेलनको अवसरमा जारी गरिएको काठमाडौं घोषणापत्रमा हस्ताक्षर गर्न विश्व बैंक नेपाल सरकार र विकास साझेदारहरुको साथमा सहभागी भएको थियो । उक्त घोषणापत्रले ग्रिड भिजन प्रतिको नेपाल सरकारको प्रतिवद्धतालाई उजागर गर्दै सम्भावित प्राथमिकता लगानी, बजार प्रोत्साहन र नीतिहरु, संस्थागत कार्य लगायतका क्षेत्रहरू तथा ग्रिडतर्फको नेपालको यात्राका लागि आवश्यक सूचनाहरू सहित साझेदारहरूको सहयोगलाई एकतावद्ध गरेको छ ।

विकासको एक नयाँ आयाम तर्फ लम्केकोमा म नेपालको प्रसंशा गर्न चाहन्छु, त्यो नयाँ आयाम नेपालको हरित, उत्थानशील र समावेशी विकासको खाका अर्थात ग्रिड हो । ग्रिड अवधारणाले जनता, पृथ्वि र नेपालको अर्थव्यवश्थाका लागि छोटो, मध्यम, तथा दीर्घकालीन रूपमा फाइदा प्रदान गर्नेछ । उपाध्यक्ष श्री सेफरले भन्नुभयो । नेपालको दिगो विकासलाई सुदृढिकरण गर्नका लागि काठमान्डौं घोषणापत्रमा समर्थन र सहयोग गर्न पाउँदा विश्व बैंक निकै हर्षित छ ।

प्रादेशिक मुख्यमन्त्रीहरु र मेयरहरु, र निजी क्षेत्रका प्रतिनिधिहरुसँगको पनि बैठकहरुमा पनि उपाध्यक्ष श्री सेफर सहभागी हुनुभएको थियो । उहाँले प्रस्तावित माथिल्लो अरूण जलविद्युत आयोजना निर्माणस्थल तथा प्रदेश नं १ मा ढल्केबर सबस्टेसनको पनि भ्रमण तथा अवलोकन गर्नुभयो । विश्व बैंकले प्रस्तावित माथिल्लो अरूण जलविद्युत आयोजनाको विकासका लागि तथा नेपाल–भारत उच्च भोल्युमको सिमापार विद्युत व्यापारलाई सहजीकरण गर्नका लागि नेपालकै सबैभन्दा ठूलो ढल्केबर सबस्टेशनको लागि सम्भाव्यता अध्ययन कार्यमा सहयोग  गरिरहेको छ ।

भ्रमणको अन्त्यमा सेफरले फेडरेशन इन्टरनेशनल दि अटोमोवाई (एफआईए) तथा नेपाल अटोमोबाइल स्पोर्टस् असोशिएसनको साझेदारीमा सडक सुरक्षामा सचेतना बढाउने हेतुले आयोजित एक विशेष कार्यक्रममा भाग लिनुभयो । उक्त कार्यक्रमले राष्ट्रसंघ द्वारा स्विकृत हेलमेट प्रयोगका लागि पैरवी गरेको थियो । यी हेलमेटहरू दुईपांग्रे सवारी चालकहरूका लागि प्रमाणित तथा किफायती छन् । भौतिक पूर्वाधार र यातायात मन्त्रालयको साझेदारीमा हाल चलिरहेको सडक सुरक्षा अभियान को एक अंशको रूपमा सो कार्यक्रमको आयोजना गरिएको थियो ।

 

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  २१:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update