Kath khabar
बच्चालाई शारीरिक दण्ड दिँदा उसको शारीरिक तथा मानसिक बृद्धिमा पर्ने नकारात्मक असर

                                               
काठमाडौं, असोज १३। नेपालमा एउटा उखान चर्चित छ ‘पानी खानु मुलको, बिहे गर्नु कुलको’ । अर्थात बच्चाको स्वभाव, आनी-बानी तथा दृष्टिकोण परिवारको बाताबरण अनुसार प्रायः मिलेको हुन्छ । मानिसको सामाजिकरण उसको जन्मपछि शुरु हुने तथा उसको पहिलो विद्यालय परिवार तथा शिक्षक आमाबुवा हुने हुँदा उक्त नेपाली उखानको चर्चा हुने गरेको हो । बच्चाको भाविको रेखा ईश्वरले होइन अभिभावकको संस्कार र परिवार तथा समाजको संस्कृतिले निर्धारण गरेको हुन्छ ।

अभिभावकले भनेको नमान्दा, जानेर तथा नजानेर बच्चाले गल्ती गर्दा शारीरिक दण्ड दिइने आम चलन छ । बच्चालाई कारण बताउने भन्दा डरत्रासबाट नियन्त्रण गर्दा उसमा नकारात्मक बानी मजबुत हुदै गएको धेरै अभिभावकलाई थाहै हुदैन । शारीरिक दण्डले बच्चाको शारीरिक तथा मानसिक दुबै विकास अबरुद्द गरेको हुन्छ ।  ‘द लांसेट’ पत्रिकामा प्रकाशित गरेको रिपोर्टले संसारभर बच्चालाई सुधार गर्न दिइने शारीरिक दण्डले बच्चाको मानसिक अवस्थामा नकारात्मक भूमिका खेलेको हुँदा सच्चाउन अभिभावकलाई आग्रह गरेको छ ।

यस समिक्षात्मक रिर्पाेटका लेखक तथा टेक्सास विश्वविद्यालयका मानव विकास तथा परिवार विज्ञानका प्राध्यापक एलिजाबेथ गेर्शंफका अनुसार मातापिताले बच्चालाई सुधार गर्न दिइने पिटाईले उसको ब्यवहार सुधार गर्दैन । आमाबाबुको पिटाइका कारण बच्चा झन खराव दिशातिर लम्कीरहेको हुन्छ । एलिजाबेथका अनुसार यस सोधमा वैज्ञानिकहरुले बच्चामा हुने शारीरिक हिंसाका श्रेणीमा आउने अलग-अलग तरीकालाई सुक्ष्म अध्ययन गरेका थिए। उनीहरुले अविभावकले अपनाउने शारीरिक दण्डका तरिका अपनाई अनुसन्धान गरेका थिए ।

यो समिक्षा अमेरिका, क्यानडा, चिन, कोलम्बिया, ग्रिस, जापान, स्विटजरल्याण्ड, टर्की र ब्रिटेन गरी नौ देशमा गरिएका ६९ ओटा वैज्ञानिक अध्ययन अनुसन्धानमा आधारित छ । उन्नाइस स्वतन्त्र अनुसन्धान शाररिक दण्डका समयमा बच्चाको ब्यबहारमा बढी जटिलता थपिएको निस्कर्षमा पुगेका छन् । बच्चाको आक्रामकता बढ्ने तथा असमाजिक ब्यवहारमा बृद्धि भएको देखिएको छ । विद्यालयमा बच्चाले देखाउने उदण्डता घरमा आमाबाबुले गर्ने कुटाइ पिटाइका कारण हुने निस्कर्ष उक्त समिक्षात्मक रिपोर्टमा उल्लेख गरिएको छ । शारीरिक दण्डको असर जात, धर्म, लिङ्ग, सामाजिक वर्ग अनुसार फरक नहुने एलिजाबेथको भनाई छ ।

उक्त रिपोर्टमा बच्चालाई शारीरिक दण्ड दिने प्रचलनमा सुधार आउन लागेको बताइएको छ । सन् १९८१ देखि १९८४ सम्म जन्मेका मानिस जो अहिले अभिभावकको भूमिकामा छन् उनीहरुले अघिल्लो पुस्ताभन्दा कम शारीरिक दण्ड दिएको निस्कर्ष निकालिएको छ । सन् १९९३ मा पचास प्रतिशत अभिभावकले बच्चा कुट्दथे भने सन् २०१७ मा उक्त ब्यवहारमा सुधार आइ पैतिस प्रतिशतले मात्र बच्चालाई शारीरिक दण्ड दिएको निस्कर्ष एलिजाबेथको छ ।

 

 

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  २०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update