
काठमाडौँ , असोज १६ । देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली भई हल्का देखि मध्यम वर्षा हुने भएको छ। काठमाडौं उपत्यकामा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अघिल्ला वर्षहरुमा असोज महिनामा पानी पर्न ठप्प भई मौसम खुला हुन गथ्र्यो । तर पछिल्लो समय भने मुलुकको विभिन्न स्थानमा पानी परिरहेको छ ।
आज पनि तराईका धेरै तथा अरु क्षेत्रका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।
अहिले भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेको छ। देशभर अहिले आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती, गण्डकी, प्रदेश २ र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश २ का धेरै र अरु प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यस्तै राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र प्रदेश २ का थोरै स्थानमा भारी वर्षाको पनि संभावना छ।
यसैबिच पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन मौसमविदले आग्रह गर्नु भएको छ। पानी परे सँगै चिसो बढ्ने छ ।