
काठमाडौं, असोज २० । ३३ किलो सुन तस्करी र सनम हत्या प्रकरणमा जोडिएका सबै प्रहरीहरूले सफाइ पाएका छन्।
मंगलबार जिल्ला अदालत मोरङले सुन प्रकरणमा जोडिएका सबै प्रहरीहरूलाई सफाइ दिएको हो। सफाइ पाउनेमा सुन तस्करीमा सघाएको र अपराधि भगाउन सहयोग गरेको भन्दै प्रहरीका पूर्व डीआईजी गोविन्दप्रसाद निरौला, तत्कालीन एसएसपी श्यामबहादुर खत्री, हालका डीआईजी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीद्वय सञ्जयबहादुर राउत र प्रजित केसी, सई बालकृष्ण सञ्जेल र जवान सञ्जीव शाक्य रहेका छन् । उहाँहरु मध्ये खत्री र राउतबाहेक अरु उच्च अदालत विराटनगरको आदेशमा त्यसैबेला छुट्नु भएको हो ।
तर,मंगलबारको फैसलासँगै सबै प्रहरी अधिकृतले सबैले सफाइ पाएका हुन् ।
यसैबीच मुख्य आरोपी उप्रेतीकी श्रीमति निरू भनिने नर्बदा खरेलले पनि सफाइ पाउनु भएको छ । उहाँहरु सबैले सफाइ पाएको जिल्ला अदालत मोरङका स्रेस्तेदार टेकेन्द्र वीरजंग राणाले बताउनु भयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ३३ किलो सुन गायब भएपछि अपराध महाशाखाका तत्कालीन एसएसपी लोहनी, तत्कालीन डिएसपी केसी र सई सञ्जेलले खोजी थालेका थिए।
त्यसक्रममा भरिया सनम शाक्यको हत्यापछि गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो। छानबिन समितिले त्यसअघि केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको ३३ किलो सुनको अनुसन्धान गरेको थियो।
अनुसन्धानमा तत्कालीन अवस्थामा त्रिभुवन विमानस्थलमा रहेका डिआइजी निरौला, खत्रीसहितका अन्य प्रहरीलाई प्रतिवादी बनाएको थियो।