
काठमाडौं, असोज २३ । यो वर्षको मनसुन औसतभन्दा केही ढिला गरी नेपालबाट बाहिरिने क्रम सुरु भएको छ। औसतमा अक्टोबर २ मा नेपालबाट मनसुन बाहिरिन्छ। तर, यो वर्ष अहिलेसम्म मनसुन पूर्ण रुपमा बाहिरिएको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार नेपालका केही क्षेत्रबाट मनसुन बाहिरिएको छ।
महाशाखाले भनेको छ, ‘नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ भए तापनि यस वर्षको मनसुन औसत मितिभन्दा केही पछाडि सरेको छ। शुक्रबारका दिन यस वर्षको मनसुन नेपालको सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभागबाट बहिर्गमन भएको छ।’
आगामी केही दिनमा देशका बाँकी भूभागबाट मनसुन बहिर्गमन हुने अनुमान गरिएको मौसमविद्ले जानकारी दिनु भएको छ।
महाशाखाले हाल प्रदेश नं १ र बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा सामान्यतया सफादेखि आंशिक बदली भइरहेको जनाएको छ। र, प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक÷ दुई स्थानमा हल्का वर्षा भईरहेको जनाएको छ ।
यसैगरी, शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानहरुमा र बांकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
यो सँगै नजिकिदै गएको बडा दशैंको फुलपातीको दुई दिन अगावै मौसम सफा हुने छ ।