Kath Khabar
अछाममा जीप दुर्घटना, चारको मृत्यु १४ घाइते

 धनगढी, असोज २५। अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–१ मा आइतबार राति ११ बजेतिर  से १ च १७६३ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो जीप जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा दुर्घटना भएको हो ।

सुदूूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दुर्घटनामा परेर पञ्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षीय जीवन जैसी, १८ वर्षकै सर्व बोहरा, २१ वर्षीय जीवन न्यौपाने र १७ वर्षीय हिमाल नेपालीको मृत्यु भएको  जानकारी दिएको छ । प्रहरीका अनुसार उनीहरु मध्ये जैसीको घटनास्थलमै र अन्य तीन जनाको उपचारका क्रममा स्थानीय स्वास्थ्य संस्थामा मृत्यु भएको बताइएको छ ।

दुर्घटनामा परेर घाइते भएका १४ जनालाई थप उपचारका लागि राति नै नेपालगञ्ज रिफर गरिएको छ । उनीहरु मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जीप कच्ची सडकखण्डमा ब्याक गर्ने क्रममा अनियन्त्रित भएर करिब दुई सय मिटर तल खसेको प्रहरीको भनाई छ । दुर्घटना पछि चालकको पहिचान हुन सकेको छैन । प्रहरीले घटनास्थलमा खोजी कार्य जारी राखेको छ ।

 

 

 

 

प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  ०७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update