Kath Khabar
मोतिपुर औद्योगिक क्षेत्र झडपमा ४९ सुरक्षाकर्मी घाइते

काठमाडौं, असोज २५ । रुपन्देहीको बुटवलअन्तर्गत मोतिपुर औद्योगिक क्षेत्रमा भएको झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरेर ४९ जना सुरक्षाकर्मी घाइते हुनुन भएको छ ।  सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) सहित ४९ जना सुरक्षाकर्मी घाइते हुनु भएको हो।

आइतबार बिहान बुटवल उपमहानगरपालिका वडा १७ र १८ मा निर्माणाधिन मोतिपुर औद्योगिक क्षेत्रमा सुरक्षाकर्मी र बस्तीका स्थानीयबीच झडप भएको थियो। सो झडपमा नेपाल प्रहरीतर्फ ३० र सशस्त्र प्रहरी बलका (एसपी) सहित १९ गरी ४९ जना सुरक्षाकर्मी घाइते हुनु भएको हो ।

झडपमा सशस्त्र प्रहरीका एसपी राजेश उप्रेती, हवल्दारहरु खुसीराम चौधरी, तीलबहादुर धामी, दिलबहादुर घर्ती, दिपेन्द्र केसी,  चुमानसिंह थापा, रुद्रबहादुर खत्री र  जनकराज जोशी रविन्न्द्रकुमार गौड  घाइते हुनु भएको हो ।

यस्तै, सशस्त्र प्रहरीका जवानहरु मनोज रावत, गणेश रावत, बसन्त डिसी, सन्तोष बस्नेत, इन्द्रजित चौधरी, शम्भु कार्की,   प्रेम बिक सुरज दयाल, कृष्णबहादुर थापा र लोकनाथ खनान घाइते हुनु भएको हो ।

यस्तै, नेपाल प्रहरीतर्फ ३० जना घाइते हुनु भएको छ । घटनामा प्रहरीका अतिरिक्त सर्वसाधारण समेत घाइते हुन पुग्नु भएको छ । सर्वसाधारणतर्फ गुल्मीका ३२ वर्षीय जंगबहादुर परियार, पाल्पाका ३५ वर्षीय गम्भीरसिंह डिसा, नवलपरासी पश्चिमका सर्वेस केवट, पाल्पाका ३८ वर्षीय प्रेम कामी घाइते हुनु भएको  छ।  घाइतेहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले जानकारी दिएको छ।

यस्तै औद्योगिक क्षेत्र जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ । मत्यु भएकामध्ये तीनको सनाखत हुन नसकेको र एकको सनाखत भएको शिक्षण अस्पताल (युसिएमएस) का जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्यु हुनेमा करिब ४८ वर्षीय कपिलवस्तुको वाणगङ्गा नगरपालिका–४ का  रमेश परियार रहेका छन् । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । अन्य तीनको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको गुरुङले बताउनुभयो । मृत्यु भएकाहरु सर्वसाधारण हुन् । अस्पतालमा अन्य पाँच प्रहरी र चार सर्वसाधारणको उपचार भइरहेको छ ।

बिहान ११ बजे ठूलो संख्यामा आएका सुकुम्बासीले अतिक्रमण भएको जग्गाको सुरक्षार्थ खटिएका प्रहरीमाथि ढुंगा÷मुढा गरेका थिए ।

 

 

प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update