Kath Khabar
स्याङ्जामा पनि जीप दुर्घटना, दुईको मृत्यु १५ घाइते

काठमाडौं, असोज २५ । स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परि १५ जना घाईते भएका छन् ।  वालिङ नगरपालिका–१० मोदीखोलाको भित्री सडक खण्डमा ग१ज ४९१८ नम्बरको जिप आइतबार साँझ दुर्घटना भएको हो।

जिप सडकबाट करिब ५० मिटर तल खस्दा गल्याङ नगरपालिका–१० का ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गंगा पल्लीको मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुबैको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परि दुई जना गम्भीर घाइते छन् भने अन्य १५ जना घाइते छन्। गम्भीर घाइते हुनेमा गल्याङ नगरपालिका–१० की चार वर्षीया करिश्मा थापा र दुई वर्षीय अर्चल विक छन्।
यस्तै अछाममा पनि आइतबार राति जीप दुर्घटना भएको थियो । अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

प्रहरी कार्यालय अत्तरियाले दुर्घटनामा परेर पञ्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षीय जीवन जैसी, १८ वर्षकै सर्व बोहरा, २१ वर्षीय जीवन न्यौपाने र १७ वर्षीय हिमाल नेपालीको मृत्यु भएको  बताएको छ ।  प्रहरीका अनुसार उनीहरु मध्ये जैसीको घटनास्थलमै र अन्य तीन जनाको उपचारका क्रममा स्थानीय स्वास्थ्य संस्थामा मृत्यु भएको बताइएको छ ।

दुर्घटनामा परेर घाइते भएका १४ जनालाई थप उपचारका लागि राति नै नेपालगञ्ज रिफर गरिएको छ । उनीहरु मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update