Kath Khabar
झण्डै आधा दर्जन ठाउँमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

काठमाडौं, असोज ३०। बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भोलहीस्थित सडकमा ना.३ ख ७५९४ नम्बरको ट्यांकरले बिआर ०६ सिक्यू ४१४१ नम्बरको कारलाई गएराति ठक्कर दिँदा कारमा सवार चालक मोतिहारी पुर्बी चम्पारन भारत घर हुनुभएका ३४ वर्षीय राजन सराफ सहित तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको वयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्यांकर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ वनढाटस्थित सडकमा ना.६ ख ७६९ नम्बरको बसले ना.५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेहरुमा हेटौंडा उपमहानगरपालिका– १५ पनेस बस्नुहुने १८ वर्षीय प्रकाश दियाली र सोही उपमहानगरपालिका–३ बस्नुहुने २२ वर्षीय सुशान्त दियाली रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उहाँहरुको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्दियाको बढैयाताल गाउँपालिका–३ स्थित सडकमा हाल नम्बर नखुलेको स्कुटरको ठक्करबाट सोही ठाउँ बस्नुहुने ७८ वर्षीया सोरावती रग्देलको शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उहाँको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने स्कुटरको प्रहरीले खोजी गरिरहेको छ ।

सप्तरीको खडक नगरपालिका–४ अमहास्थित सडकमा बा.५६ प २५१५ नम्बरको मोटरसाइकल र  स.५ प ८४३४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा हाल नाम,थर, वतन नखुलेका २ जना पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उहाँहरुको सप्तऋषी अस्पताल लहान सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

रौतहटको दुर्गा भगवती गाउँपालिका–४ स्थित सडकमा बिआर ३० वाई ९०४७ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उहाँको शिवदर्शन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति: शनिबार, असोज ३०, २०७८  २२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update