Kath Khabar
यस्तो छ, सार्वजनिक यातायातको बढेको भाडादर
दशैं नजिकिए सँगै नयाँ बसपार्कमा अग्रमि टिकट बुकिङका लागि पुगेका सर्वसाधारण । फाईल तस्बिर

काठमाडौं, कार्तिक २ । सोमबारदेखि बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा बढेको छ। यो सँगै भौतिक पूर्वाधार विकास मन्त्रालयले बढाएको सार्वजनिक सवारीको भाडा सोमबारदेखि लागू भएको छ। मन्त्रालयले गत असोजमै कात्तिक १ गतेदेखि काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा वृद्धि गर्ने निर्णय गरेको थियो।

मन्त्रालयले काठमाडौं उपत्यकामा किलोमिटरका आधारमा भाडा बढाएको छ। जसअनुसार अब काठमाडौं उपत्यकाको हकमा भने यात्रुले पार गर्ने दूरीअनुसार भाडा तय गरिएको छ । चढेको ठाउँदेखि पाँच किलोमिटरसम्म यात्रा गर्दा १८ रुपैयाँ भाडा लाग्नेछ । यसअघि चढेको ठाउँदेखि चार किलोमिटरसम्म १४ रुपैयाँ र चढेको ठाउँदेखि पाँच किलोमिटरसम्म १६ रुपैयाँ भाडा थियो । यसअनुसार २५ देखि २९ प्रतिशतसम्म भाडा वृद्धि गरी कार्यान्वयनमा ल्याएको छ ।

त्यस्तै, चढेको ठाउँदेखि १० किलोमिटरसम्मका लागि २३ रुपैयाँ र १५ किलोमिटरसम्मका लागि २७ रुपैयाँ तोकिएको छ । यसअघि १० किलोमिटरसम्म २१ रुपैयाँ र १६ किलोमिटरसम्म यात्रा गर्दा २५ रुपैयाँ भाडा तिर्नुपर्थ्यो । त्यसबाहेक २० किलोमिटरसम्मका लागि ३० रुपैयाँ र २० किलोमिटरभन्दा बढीका लागि ३५ रुपैयाँ तोकिएको छ । यसअघिको व्यवस्थाअनुसार १९ किलोमिटरसम्म २६ र त्यसभन्दा बढीलाई २७ रुपैयाँ भाडा थियो ।

यातायात व्यवसायीले अन्य ६ वटा प्रदेशमा पनि भाडा वृद्धि गर्ने तयारी गर्न दबाब दिएको पाईन्छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update