Kath Khabar
अविरल वर्षाको कारण पहिरो जाँदा दुईजनाको मृत्यु, सडक अवरोध तथा घर डुबानमा

काठमाडौं, कात्तिक २ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काडा बस्ने ३२ वर्षीय बिष्णु अवस्थीको सन्ध्या फेन्सी स्टोर पसलमा सोमबार राति पहिरो जाँदा पहिरोमा च्यापिएर बिष्णुको मृत्यु भएको छ । पहिरो जाँदा पसलभित्र बिष्णु च्यापिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी भात्काडाबाट खटिएको प्रहरीले घाइतेको उद्दार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । साथै पसल पूर्णरुपमा क्षति भएको छ । 

कालिकोटको महाबै गाउँपालिका–७ राम्नी बस्ने बिष्णुलाल अधिकारीको घर अविरल वर्षाको कारण मंगलबार बिहान भत्किँदा उनकै छोरी १८ वर्षीया स्मृती अधिकारीको घरभित्र पुरिएर मृत्यु भएको छ । साथै उनकै १५ वर्षीया छोरी पहिरोमा पुरिएर सामान्य घाइते हुनुभएको छ । 

बझाङको बित्थडचिर गाउँपालिका–२ पैरास्थित जयपृथ्वी राजमार्गमा सोमबार साँझ पहिरो जाँदा सडक अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बित्थडचिरबाट खटिएको प्रहरीले सडक खुलाउन पहल गरिरहेको छ । 

कञ्चनपुरको भिमदत्त नगरपालिका–१२ ओदाली र दोधारा चाँदनी नगरपालिका–१० कुतीया कभर, शान्तीटोल, बैदीफाटा र निशानीटोलमा अविरल बर्षा कारणले माहाकाली नदीमा पानीको सतह वढ्दा करिब २ सय घर डुबानमा परेका छन् । डुबान परेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गड्डा चौकी र ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ । घटनास्थलमा तत्काल नजिकको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update