
काठमाडौं, कार्तिक ३। मौसम पूर्वानुमान महाशाखाले बुधबार पनि गण्डकी तथा बागमती प्रदेशका केही क्षेत्र र प्रदेश १ का केही भू–भागमा मेघजर्गन/चट्याङ सहित वर्षा हुने बताएको छ । मंगलबार दिउँसोसम्म सुदूरपश्चिम र प्रदेश १ मा पनि जनजीवन प्रभावित गर्ने गरी वर्षा भएको थियो। यी क्षेत्रमा बुधबारसम्म सोही प्रणाली रहने छ।
पश्चिममा बिहीबारबाट मौसम सुधार भए पनि वर्षाको सम्भावना यथावत् छ। महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार सुदूरपश्चिममा मंगलबार दिउँसो ३ बजेसम्म पनि भारी वर्षा भएको थियो। बुधबारसम्म मुलुकका धेरै स्थानमा वर्षा हुने र बिहीबारबाट मात्रै क्रमिक सुधार हुने देखिन्छ।
बुधबार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेश प्रदेशका धेरै स्थानहरुका साथै बाकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना छ । प्रदेश १ का थोरै र प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
यस्तै रातीबाट मौसम परिवर्तन हुने भए पनि वर्षा भने हुने बताइएको छ । रातीबाट प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश १ र प्रदेश नं २ का थोरै स्थानहरुमा साथै बाकी प्रदेशका एक÷दुई स्थानहरुमा मेघगर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका हल्का हिमपातको समेत सम्भावना छ । प्रदेश १ को एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ। केही दिन पहिला मौसम बाहिरिएको सूचना सार्वजनिक भए सँगै किसानहरूले धान धमाधम काटेका थिए। तर, धान भित्रयाउन नपाउँदै अत्यधिक वर्षा भएपछि मौसमविद्हरूको आलोचना भएको थियो।
राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक १ र २ गतेसम्ममा २ सय ९ वटा स्टेसनमा वर्षा भएको देखिएको छ। यसबाट १८ वटा घटना घटेका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार कर्णाली नदीले सतर्कता तह पार गरेको छ। कैलालीकै खुटिया नदीको सतहले सतर्कता तह आसपास छ।
साथै, जुम्लाको तिला नदी सेरीघाट जलमापन केन्द्रले सतर्कता पार गरेको र रातिसम्म नै खतरा रहेको जनाएको छ। महाशाखाका अनुसार महाकाली नदीले सोमबार साँझसम्म खतराका तह पार गरेको थियो। कर्णालीकै असारघाटमा ७.९२५ मिटर पुगेको थियो। पूर्वी नेपालको तमोर नदीमा पानीको सतह बढेर ६.६४१ मिटर पुगेको महाशाखाले जनाएको छ। त्यसले जनधनको क्षति गर्न सक्ने भएकाले सतर्कता अपनाउन सुझाएको छ।
यस्तै वर्षाको कारणले गर्दा मुलुकका विभिन्न स्थानमा पहिरोजाँदा धनजनको समेत क्षति भएको छ । वर्षा हुने हुदाँ सर्वसाधारणलाई शर्तक रहन समेत महाशाखाले आग्रह गरेको छ ।