Kath Khabar
डोटीमा बाढीपहिरोमा परेर ८ को मृत्यु, एक बेपत्ता
फाईल तस्बिर

डोटी, कार्तिक ३ । डोटीमा आएको बाढी, पहिरामा परी आठ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। उनीहरूको मंगलबार मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार बाढी, पहिरामा परी मृत्यु हुनेमा शिखर नगरपालिका–११ की ३५ वर्षीया मन्दरा बलायर, जोरायल गाउँपालिका–३ का ६२ वर्षीय जोगी सार्की, सोही गाउँपालिका–४ का ४२ का शेरबहादुर विक, १८ वर्षीय मोहन विक, १३ वर्षीया पवित्रा विक, १६ वर्षीय रविन विक रहेका छन्।

यसैगरी तीन दिनदेखिको लगातारको बर्सात्का कारण सायल गाउँपालिका–६ मेल्लेखमा पहिरो गई स्थानीय वीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिए उनका छोरा १५ वर्षीय सागर र ११ आशिष कुन्जेडाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

सायल गाउँपालिका–१ स्थित छत्रे खोलाले बगाउँदा स्थानीय ७४ वर्षीय वीरे रोकाया बेपत्ता भएको अस्थायी प्रहरी पोष्ट छपालिले जनाएको छ। उनको खोजीकार्यका लागि प्रहरी टोली परिचालन भए पनि फेला पार्न सकिएको छैन।

केआइसिंह गाउँपालिका–४ मा पहिराको जोखिममा परेकाहरु विस्थापित भई गाउँपालिकाको कार्यालय, स्वरोजगारको कार्यालय, प्रहरी चौकी वायल र स्थानीय मन्दिरमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दिपायल सिलगढी नगरपालिका–८ पाङरिमा २० घरधुरी परिवार पहिराको जोखिममा परी विस्थापित भई सुरक्षित बासस्थानका लागि दुर्गा आधारभूत विद्यालयमा राखिएको प्रहरी प्रमुख दानबहादुर मल्लले बताए। रासस

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update