Kath Khabar
बेमौसमी वर्षाका कारण देशभर १८ जनाको मृत्यु, ३३ जना सम्पर्कविहीन

काठमाडौं, कार्तिक ३ । मनसुन बाहिरिएको हप्ता दिन नबित्दै बेमौसममा परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर १८ जनाको मृत्यु भएको छ ।विपद्मा परेर विभिन्न जिल्लाका ३३ जना सम्पर्कविहीन छन् ।

गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेका अनुसार डोटीमा ७, धनकुटामा ५, सुनसरीको धरानमा २, कालीकोटमा १ र डडेल्धुरामा १ जनाको मृत्यु पुष्टि भएको छ । नेपालमा गत असोज ३१ देखि पानी पार्ने प्रणाली सक्रिय भएको थियो । अहिलेसम्म सुदूरपश्चिमलाई नराम्ररी प्रभावित बनाएको छ ।

प्रहरी प्रधान कार्यालयले बिहान दिएको विवरणअनुसार इलामको फाकफोकथुम गाउँपालिका–१ ठेङ्गेपुरमा नगबहादुर शेर्माको घरमा पहिरो खस्दा २ जनाको मृत्यु भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले जिल्लाको चौबीसे गाउँपालिका–१ छनम बुधबारेमा मंगलवार राति पहिराले भीमबहादुर श्रेष्ठको घर भत्काउँदा ६ जनाको मृत्यु भएको जानकारी दिनु भयो  ।  उहाँका अनुसार पहिरोमा परेका १२ मध्ये ६ जनाको उद्धार गरिएको छ ।

महाशाखाका प्रमुख पाण्डेले पहिरोमा परेर हुम्लामा ६, बझाङमा २३ जना सम्पर्कविहीन रहेका जानकारी आएको बताए । कैलालीमा पनि ४ जना बेपत्ता भएका छन् ।

पहिरो खसेर बझाङको थलारा गाउँपालिका–४ मा ७ घरका २३ सम्पर्कविहीन भएका हुन् । सो क्षेत्रमा विद्युत् तथा टेलिफोन सम्पर्कसमेत विच्छेद भएकाले घटनाको यकिन विवरण अझै आउन सकिरहेको छैन ।

हुम्लाका प्रजिअ गणेश आचार्यका अनुसार जिल्लामा आइतवारदेखि परेको पानी अहिले बिहान मात्रै रोकिएको छ । उनले खार्पुनाथ गाउँपालिका–५ खर्पेल गाउँमा मंगलवार राति पहिरो झरेर १ घर पुरिएको र त्यहाँ रहेका ६ जना सम्पर्कविहीन भएका जानकारी प्राप्त भएको बताउनु भयो ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार बाढीपहिरोका कारण ४ सम्पर्कविहीन भएका र उनीहरूको खोजी जारी छ । जिल्लाका ३०० घर प्रभावित भएको उहाँले  बताउनु भयो  । अन्य विभिन्न जिल्लामा ठूलो भौतिक क्षति भए पनि यकिन विवरण आइसकेको छैन । अहिले उद्धार कार्यमा मुलुककै ध्यान केन्द्रित भएको र बेपत्ताको खोजीका लागि ३ वटै सुरक्षा निकाय, स्थानीय प्रशासन तथा समुदाय सक्रिय रहेको महाशाखा प्रमुख पाण्डेले जानकारी दिनु भयो ।

जिल्लामा फसेका नौको हेलिकप्टरबाट उद्धार गरिएको छ । स्थलमार्गबाट समेत उद्धार कार्य जारी रहेको र अहिलेसम्म कञ्चनपुरलगायत जिल्लाबाट ७०० लाई उद्धार गरी सुरक्षित ठाउँमा पुर्‍याइएको गृह मन्त्रालयले जनाएको छ ।

प्राप्त विवरणमा बाढी पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ । त्यसमध्य १५ जिल्लाका अधिकांश राजमार्ग तथा धेरै ठाउँमा विद्युत् र फोन सेवा समेत अवरुद्ध भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिनु भयो  । उनले उद्धार, राहत तथा अस्थायी बसोबासको व्यवस्थापन कार्य पनि सँगसँगै भइरहेको जानकारी दिनु भयो।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले प्रभावित क्षेत्रमा रातिमा समेत खटिएर प्रहरीले उद्धार कार्यलाई तीव्रता दिइरहेको र यो क्रम जारी रहेको जानकारी दिनु भयो । अहिलेको वर्षाले किसानको भित्रिन लागेको धानबालीलाई समेत नराम्ररी प्रभावित बनाएको छ ।

बुधवार भने वर्षा हुने प्रणाली नेपालको पूर्वी भेगतिर सरेसँगै कणाली र सुदूरपश्चिममा केही सुधार भएको छ । नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै छ ।

जसका कारण अहिले हाल देशको प्रदेश १, २ र बागमती प्रदेशमा पूर्ण बदली र बाँकी भू–भागमामा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, बागमती र  गण्डकी प्रदेशका केही स्थानमा र बाकी प्रदेशका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । बुधवार दिउँसो प्रदेश १ का थोरै र प्रदेश २, बागमती, गण्डकी प्रदेशका १र२ स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । रासस

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update