Kath Khabar
सहमहामन्त्री डा. महतद्धारा बर्षा पीडितको उद्धार, पुनर्स्थापना, राहत र क्षतिपूर्तिका साथै बढ्दो सवारी दुर्घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं, कात्तिक ३। नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आज (बुघबार) बिहान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग भेट गरी सोमबारदेखि निरन्तर परेको बर्षाको कारण सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका विभन्न जिल्लाहरुमा आएको बाढी, पहिरो तथा डुबानबाट पुगेको जनधन, पूर्वाधार, खेतिबालीको क्षति तथा बडादशैंको अवधिमा भएका सवारी दुर्घटनाहरुका विषयमा ध्यानाकर्षण गराउनुभएको छ । 

असमयमा पर्न गएको बर्षाका कारण आएको बाढी,पहिरो तथा डुबानबाट विभिन्न जिल्लामा पुगेको जनधन, भौतिक पूर्वाधार र खेतिबालीको क्षतिप्रति प्रधानमन्त्री देउवाले चिन्ता व्यक्त गर्नुभएको उहाँले बताउनुभएको छ । डा. महतले विपद्को समयमा पीडितहरुको उद्धार, पुनस्थापना र राहतको ब्यवस्थाको लागि तीनै तहका सरकारको समन्वयमा राजनीतिक दलका कार्यकर्ताहरु पनि परिचालित हुनुपर्ने आवश्यकता देखिएको बताउनुभएको छ ।

उहाँले तत्कालका यी काम सम्पन्न भएपछि पाकिसकेको धानबालीमा बर्षाले पुर्याएको क्षतिबारे यथार्थ विवरण संकलन गरी उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि प्रधानमन्त्रीसमक्ष निवेदन गर्नुभएको छ । यस कार्यमा स्थानीय सरकार र राजनीतिक दलका स्थानीय इकाईले पूर्ण सहयोग गर्नुपर्ने अवस्था उहाँले  औल्याउनुभएको छ ।

सहमहामन्त्री डा. महतले उद्धार,राहत र पुनःस्थापना जस्ता मानवीय कार्यमा सिंगो  नेपाली कांग्रेस पार्टी र भातृ तथा शुभेच्छुक संस्थाका संबन्धित क्षेत्रका सबै तहका पदाधिकारी तथा सदस्यहरु सक्रियतापूर्वक खट्ने विश्वास व्यक्त गर्नुभएको छ । भेटका अवसरमा सहमहामन्त्री डा. महतले प्रधानमन्त्री देउवालाई केही समय यता भएका सवारी दुर्घटनाका बारेमा पनि जानकारी गराउनुभएको थियो ।

तत्कालका लागि यस्ता दुर्घटनामा परेका यात्रुहरुको निःशुल्क स्वास्थ्योपचार, मृतकका परिवारलाई राहत सहयोग र दीर्घकालमा दुर्घटना न्यूनीकरणका उपाय अबलम्बन गर्ने सम्बन्धमा उहाँले राख्नुभएको प्रस्तावलाई प्रधानमन्त्री देउवाले सकारात्मक रुपमा लिनुभएको डा.महतले बताउनुभएको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update