Kath Khabar
प्रधानमन्त्री देउवा मन्त्री सहित बाढी प्रभावित क्षेत्र अवलोकनको लागि प्रस्थान

काठमाडौं, कार्तिक ४। प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनमा निस्किनु भएको छ । उहाँ विहीबार विहान ८ बजे काठमाडौंबाट बाढी पहिरो र डुबान प्रभावित विभिन्न जिल्लामा अवलोकन गर्न निस्किनु भएको हो। प्रधानमन्त्रीको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्रीत्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि सहभागी हुनुहुन्छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीको टोली  प्रधानन्त्रीको सरकारी निवास बालुवाटारबाट सिधै सुर्खेत जानु हुने छ ।

सुर्खेत विमानस्थलमा कर्णाली प्रदेशमा भएको क्षतिका सन्दर्भ प्रधानमन्त्री देउवाले बिफ्रिङ लिनु हुनेछ । त्यसपछि प्रधानमन्त्रीको टोली सुर्खेतबाट डोटीको दिपायल प्रस्थान गर्नेछ । दिपायलमा बिफ्रिङ तथा अवलोकन गर्ने कार्यक्रम छ । दिपायलबाट प्रधानमन्त्रीको टोली बझाङतिर लाग्ने छ । त्यहाँ पनि बिफ्रिङ र अवलोकन गर्ने कार्यक्रम छ ।

बझाङबाट प्रधानमन्त्रीको टोली बैतडी , गृह जिल्ला डडेलधुरा प्रस्थान गर्ने छन्। त्यहाँ पनि बिफ्रिङ र अवलोकन गर्ने छन् । त्यसपछि प्रधानमन्त्रीको टोली कञ्चनपुर , कैलाली धनगढी पुग्नु हुनेछ भने  धनगढी बास बस्ने तय भएको छ । देउवाको टोली शुक्रबार बर्दिया र बाँके हुँदै मात्रै काठमाडौं फर्किने छ । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा व्यापक जनधनको क्षति भएको छ ।  
सरकारले बाढी पहिरोबाट मृत्यु भएकाका परिवारलाई २ लाख र घर क्षति भएको भए ५ लाखसम्म राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ । यस्तै घाइतेहरुको उपचार निःशुल्क हुनेछ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update