Kath Khabar
बाढीपहिरो पीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न इन्सेकको माग

काठमाडौं, कात्तिक ७। वर्षायामको समाप्तिपश्चात एक्कासी मनसून सक्रिय भई परेको भिषण वर्षाका कारण सिर्जित विपदको दुखद् घडीमा मृतकका परिवार तथा पीडित नागरिकको सहायतामा तत्काल जुट्न इन्सेकले नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकारहरु र सम्पूर्ण सरोकारवाला निकायहरुसँग आग्रह गरेको छ ।

इन्सेकले कात्तिक ७ गते जारी गरेको विज्ञप्तिमा पीडितहरूको सहायताका लागि सरकारी निकायको ध्यानाकर्षण गराइएको हो । सामाजिक संस्था, विज्ञ तथा सम्बन्धित सरोकारवालाहरुको परिचालन गरि वर्षैपिच्छे दोहोरिने यस्ता घटना र त्यसको जोखिम न्यूनीकरण गर्न पूर्वतयारी तथा प्रतिकार्यको सुनिश्चितताका लागि कार्य गर्न आग्रह गर्दछौँ । विपदको समयमा तीनै तहका सरकारको एकीकृत परिचालन गरी उद्दार, राहात र क्षतिपूर्तिको व्यवस्था सुनिश्चित गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौँ ।’–जारी विज्ञप्तिमा उल्लेख छ ।

बालीनाली र पशु चौपायको अनिवार्य बिमाको व्यवस्था मिलाउन इन्सेकले तीनै तहका सरकारको ध्यानाकर्षण गराएको छ । विज्ञप्तिमा भनिएको छ–’समयसमयमा हुनसक्ने जुनसुकै प्रकारको विपद्को व्यवस्थापनका लागि तल्लो तहसम्म संयन्त्र निर्माण गर्न र आवश्यक परेका बेला त्यस्ता संयन्त्रलाई तदारूकताका साथ परिचालनको नीति अबलम्बन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउछौँ ।’

बेमौसमी बाढीपहिरोको प्रकोपका कारण १ सय १ जनाको मृत्यु भएको, ३७ जना बेप्पत्ता भएको, ७८ ओटा घर, १६ ओटा गोठ, ६ ओटा पुल, एउटा विद्यालय र तीन ओटा सरकारी कार्यालयमा क्षति पुगेको, १ सय ८६ ओटा पशु चौपाय मरेको, १ हजार १ सय ८८  ओटा घर परिवार विस्थापित भएको नेपाल प्रहरीले जनाएको छ । यो अवधिमा बाढीका कारण २ हजार २ सय ३२ ओटा घर डुबानमा परेका प्रहरीको प्रारम्भिक तथ्याङ्क छ ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update