Kath Khabar
काठमाडौं उपत्यका सहित मुलुकभर बढ्यो चिसो, वर्षा र हिमपातको सम्भावना कायमै

काठमाडौं, कार्तिक ९ ।  देशभर चिसो बढ्न थालेको छ ।  न्यूनतम र अधिकतम तापक्रम घट्न थालेकाले बिहान र बेलुका चिसो हुन थालेको छ । मुलुकका उच्च तथा हिमाली भागमा हिमपात र विभिन्न स्थानमा भएको वर्षाका कारणले गर्दा तापक्रम घट्न गई थप चिसो हुनु पुगेको हो।

अब चिसो झन् झन् बढ्दै जाने मौसमविद्ले बताउनु भएको छ। काठमाण्डौसहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको छ । तर,  बादल लागेको दिन भने तापक्रम स्थिर हुने र बढ्ने समेत हुन्छ ।  

हिजो भन्दा आज काठमाण्डौ न्यूनतम तापक्रम झण्डै १ डिग्री सेल्सियस बढी छ । तर जलवाष्पयुक्त हावाका कारण हिजो भन्दा आज धेरै चिसो महसुस गरिएको छ । हिजो बिहान ५ बजेको  काठमाण्डौको न्यूनतम तापक्रम १३ दशमलव ५ डिग्री सेल्सियस थियो  ।

आज भने १४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । यसैबीच, अहिले देशका धेरै ठाउँको मौसम बद्ली भएको छ ।  काठमाण्डौ उपत्यकासहित देशका केही पहाडी क्षेत्रमा अहिले लागेको बादल केहीबेरमा हटेर दिउँसो घाम लाग्ने सम्भावना रहेको मौसमविद्को भनाई छ।

यस्तै मंगलबार पनि वर्षा र हिमपातको सम्भावना रहेको जल तथा पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार मंगलबार दिउँसो  देशको पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली  र तराईका भु–भागमा सामान्यतया सफा देखि आंशिक बदली  रहने छ। देशका थोरै स्थानहरुमा  हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै राती देशको पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली  र तराईका भु(भागमा सामान्यतया सफा देखि आंशिक बदली  रहने छ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update