Kath Khabar
ट्राफिक प्रहरीद्वारा २३ वटा मोटरसाइकल हस्तान्तरण

काठमाडौं, कात्तिक १२। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका बिभिन्न स्थानबाट हराएका २३ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । आज हस्तान्तरण गरिएका २३ मध्ये १५ वटा मोटरसाइकल र ८ वटा स्कुटर रहेका छन ।

उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्यूनिकरण एवं नियन्त्रण गर्न ट्राफिक प्रहरीले विशेष टोली परिचालन गरेको छ । सवारी धनीले ट्राफिक महाशाखामा दिएको हुलिया निवेदनका आधारमा टोलीले मोटरसाइकल खोजतलास गरि सम्बन्धित धनीलाई बुझाउने गरेको छ भने चोरीमा संलग्नहरूलाई नियन्त्रणमा लिई कारबाही गर्दै आएको छ । महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले हराएका मोटरसाइकल खोजतलास एव चोरी नियन्त्रण गर्न हामी निरन्तर लागिपरेका बताउँदै मोटरसाइकल हराउनै नदिनको लागी सबैको सहयोग र हातेमालोको खाँचो छ, विशेषगरी सवारी धनी थप सजग एव जिम्मेवार हुनुपर्ने कुरामा जोड दिनुभयो ।

आफ्नो भेटिएको सवारी साधन फिर्ता लिने क्रममा केही धनीहरूले ट्राफिक प्रहरीलाई धन्यबाद दिदैं हराएको मोटरसाइकल भेटिँदैन होला भनेर अर्को नयाँ किनेर चढ्न शुरु गरेको कुरा सुन्दा हामी थप उत्साहित भएका छौं, एसएसपी भट्टराईले अझ सक्रिय भई चोरी नियन्त्रणमा लाग्ने बिश्वास समेत व्यक्त गर्नुभयो । ट्राफिक प्रहरीले चोरी नियन्त्रणमा प्राप्त गरेको सफलताले हराएका मोटरसाईकल प्रहरीले फेला पर्दैन होला भन्ने कतिपय सवारी धनीको दुबिधालाई क्रमश चिर्न सफल भएकोमा खुशी समेत व्यक्त गर्नुभयो ।

विशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको इलाकाबाट मोटरसाइकलहरू बरामद गरिने र चोरीमा संलग्न मानिसहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागी तत्कालै विभिन्न प्रहरी बृत्तहरुमा पठाउने गरेको महाशाखाले जनाएको छ । पछिल्लो समय स्कुटर चोरीका निवेदनहरू बढ्न थालेको महाशाखाको तथ्याङ्कले प्रस्ट्याउँछ । विशेषगरी स्कुटर चालकहरूले सवारी दर्ता किताब (विलबुक) डिक्कीमै राख्ने गरेको हुन्छ। कतिपय अवस्थामा चाँबी सहित स्कुटरहरु हराउने हुँदा चोरी पश्चात नम्बर प्लेट समेत परिवर्तन नगरी निर्बाध रुपमा चलाउन, चेकिङ्गमा सोही ब्लुबुक देखाई छुट्न समेत सजिलो हुने गरेको महाशाखाको बुझाई छ ।

जथाभावी पार्किङ नगर्न, एकान्त स्थान र लामो समयसम्म पार्किङ नगर्न र थप अतिरिक्त सुरक्षाका उपायहरू प्रयोग गर्न समेत महाशाखाले अनुरोध गरेको छ । यस आर्थिक वर्षमा हराएका ३८७ मोटरसाइकल मध्ये १७१ मोटरसाइकल नियन्त्रणमा लिई १६८ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ । मोटरसाइकल चोरीमा संलग्न १९ जनालाई चोरीका मोटरसाइकल सहित सम्बन्धित प्रहरी बृत्तहरुमा कारबाहीको लागि पठाएको समेत महाशाखाले जनाएको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update