
काठमाडौं, कार्तिक १३ । यस वर्षको ‘इन्टेग्रिटी आइकन नेपाल २०२१’ बाट पाँच जना कर्मचारी सम्मानित भएका छन् ।
सम्मानित हुनेमा भेरी अस्पताल, बाँकेकी नर्सिङ अधिकृत शिला शर्मा, नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनी, मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरी, भक्तपुर अस्पतालकी मेडिकल सुपेरिटेन्डेन्ट डा. सुमित्रा गौतम र भाषा आयोगका उप–सचिव डा. लोकबहादुर लोप्चन हुनुहुन्छ ।
सेवाग्राहीको सुझावका आधारमा पाँचै जनालाई छुट्टाछुट्टै शीर्षकमा सम्मान प्रदान गरिएको हो । अकाउन्टीबिलिटी ल्याब नेपालले सार्वजनिक सेवामा रहेर काम गर्ने पाँच जना कर्मचारीको नाम गएको ५ गते सार्वजनिक गरेको थियो ।
यसवर्षका इन्टेग्रिटी आइकनलाई देशभरिबाट प्राप्त भएका ३ सय ३५ मनोनयनबाट पाँच जनाको नाम छनोट गरिएको ल्याब नेपालका कार्यक्रम संयोजक अस्मिता शर्माले बताउनुभयो ।
संयोजक शर्माका अनुसार ती कर्मचारीले गरेका काम, सेवाग्राहीलाई प्रदान गर्ने सुविधाजस्ता कुराको आधारमा इन्टेग्रिटी आइकन प्रदान गरिएको हो । विगत आठ वर्षदेखि ल्याब नेपालले उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गर्दै आइरहेको छ । सम्मानले कर्मचारीमा सुशासन कायम राख्न थप मद्दत पुग्ने सम्मानितहरुले प्रतिक्रिया दिनु भयो ।