Kath Khabar
भोलि बहुचर्चित कलाकारहरूको साथमा 'झिलिमिली तिहार' कार्यक्रम आयोजना गर्दै काठ मिडिया

ललितपुर, कार्तिक १७। तिहारको अवसरमा ‘झिलिमिली तिहार’ कार्यक्रम बहुचर्चित कलाकारहरूको साथमा काठ मिडिया प्रा.लि ले आयोजना गर्दै छ। बिहीबार लक्ष्मीपूजाको दिन ललितपुर जिल्लाको इमाडोल, राजकुलो चोकको मुख्य सडकस्थित सो कार्यक्रम गर्न लागिएको हो । कार्यक्रम बिहान ७ बजे देखि साँझ ५ः३० बजेसम्म हुने काठ मिडियाका सहायक प्रबन्ध निर्देशक बिमल कुमार केसीले बताउनुभयो ।

कार्यक्रममा बरिष्ठ हास्य कलाकार तथा समाजसेवी किरण केसी (राता मकै), सुरेन्द्र केसी (मूला साग) को प्रस्तुति रहनेछ । तथा ‘पञ्चामृत ब्याण्ड’, ‘द जेन्टलम्यान व्याण्ड, ‘टु गनस्लिंगर्स ब्याण्ड’, ‘द ब्ल्याक हक’, सहितका कलाकारहरूको प्रस्तुति रहनेछ । यस्तै देवेन्द्रमान सिंह, टिका प्रसाईँ, नरेश बुढाथोकी, सप्तक दूतराज, लक्ष्मण निरौला र म्युजिकस्लेभ सहित चर्चित कलाकारहरूको समेत कार्यक्रममा प्रस्तुति रहने छ, उहाँले बताउनुभयो ।  

कार्यक्रमको मुख्य आकर्षणको रुपमा पाँच तारे होटलको स्वादमा ‘टर्की टेस्ट’ रहेको छ । पछिल्लो समय नेपालमा टर्कीको उत्पादन बढ्दै गएको हुँदा त्यसको स्वाद सर्वसाधारणलाई जानकारी गराउनको लागि ‘टर्की टेस्ट’ मेला राखिएको बताइएको छ । कार्यक्रममार्फत कृषि पेशालाई मर्यादित र सम्मानित बनाउनु एवं आफ्नै क्षेत्रमा उत्पादन भएको मानव स्वास्थ्यको लागि निकै नै स्वस्थकर मानिएको कृषि उत्पादनसँगै टर्कीको परिकारहरूलाई आम नागरिकको जनजिब्रोसम्म पुर्याउनु रहेको समेत सहायक प्रबन्ध निर्देशक केसीले बताउनुभयो ।

‘झिलिमिली तिहार, संगीत र सरसफाइ सँगसँगै’ भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गर्नुको मूल उद्देश्य भनेको आम नागरिकमा सरसफाइ सम्बन्धी जनचेतना बिस्तार गर्नु रहेको बताइएको छ ।

कोभिड-१९ महामारी सामान्यतर्फ उन्मुख अर्थात् कोभिड विरुद्धको खोपका कारण जनजीवन सामान्यतर्फ उन्मुख भइरहेको अवस्थामा नागरिकहरूको जीवनमा केही उत्साह थप गर्न तथा खुशी प्रदान गर्न सांगीतिक, कला लगायतका कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

कार्यक्रममा राजनीतिक दलका सदस्यहरु, समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थिति हुने बताइएको छ । करिब १० हजार जना प्रत्यक्ष सहभागी हुने सो कार्यक्रममा सम्पूर्ण महालक्ष्मीबासी र उपत्यकाका विभिन्न क्षेत्रका नागरिकहरूको सहभागिता रहने छ ।

 

 

 

प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update