Kath Khabar
थप दुई स्थानमा नयाँ ट्राफिक लाइट संचालनमा

काठमाडौं, कार्तिक १७ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन खानी विभाग चोक र टुकुचामा नयाँ ट्राफिक लाईट जडान गरी आजबाट सञ्चालनमा ल्याइएको छ । ट्राफिक प्रहरी महाशाखाले एनसेलसँग समन्वय गरी खानीबिभाग र काठमाण्डौ महानगरपालिका वडा नं १को सहयोगमा टुकुचामा नयाँ ट्राफिक लाइट जडान गरी संचालनमा ल्याएको हो ।

खानी विभाग चोकमा जडान गरेको ट्राफिक लाईट महाशाखाका प्रमुख एसएसपी जनक भट्टराई र एनसेलका सुरक्षा प्रमुख सम्पत अर्यालले स्विच अन गरी संयुक्त रूपमा उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले उपत्यकाको सवारी चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिदै आएको बताउनुभयो ।

हामी ट्राफिक व्यवस्थापनलाई प्रबिधिमैत्री बनाउने अभियानमा छौ, यसको लागि विभिन्न निकायहरूसँग निरन्तर समन्वय र सहकार्य गर्दै आईरहेका छौं । आज जडान भएका लाइट त्यसैको परिणाम भएको र आगामी दिनहरुमा अन्य चोकहरुमा समेत ट्राफिक लाईट राख्न हातेमालो गर्ने योजना समेत रहेको छ। भट्टराईले भन्नुभयो:- प्रविधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरूको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्रमुख प्राथमिकता दिएको छ ।

कार्यक्रममा बोल्दै एनसेलका सुरक्षा प्रमुख सम्पत अर्यालले एनसेलको संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दे आम सेवाग्राहिलाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्या, ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । पछिल्लो समय ट्राफिक प्रहरीले प्रविधिलाई जोड दिदै ट्राफिक लाइट जडानमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अन्य स्थानहरूमा ट्राफिक लाइट जडान र अन्य कार्यहरूमा सहकार्य एव सहयोगी बन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा एनसेलका प्रशासन प्रबन्धक नारायण दाहाल, सीएसआर प्रमुख विशाखा राज्यलक्ष्मी खड्का, ट्राफिक प्रहरी अधिकृतहरु, अन्य पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी टुकुचाको ट्राफिक लाइट उद्घाटन गर्दै कामनपा वडा नं १ का वडा सदस्य अशोक कुमार श्रेष्ठले प्रविधिमैत्री ट्राफिक व्यवस्थापनलाई सबै तहबाट सहकार्य एव सहयोग हुनुपर्नेमा जोड दिनुभयो । स्थानीय तहले आफ्नो क्षेत्रमा सहज यातायात र दुर्घटना न्यूनिकरणमा ध्यान दिनुपर्ने बताउनुभयो । श्रेष्ठले पछिल्लो समय महाशाखाले प्रविधिलाई जोड दिदै ट्राफिक लाइट जडानमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनहरूमा समेत ट्राफिक महाशाखासँग अझै सहकार्य गर्दै जाने बताउनुभयो ।

हाल उपत्यकाको मुख्य ३८ चोकहरूमा ट्राफिक लाइटबाट सवारी व्यवस्थापन हुँदै आएको छ । ट्राफिक लाइट सञ्चालनमा आएका चोकहरूमा ट्राफिक लाइटको पूर्ण पालना गरिदिनु हुन सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।

 

 

प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update