Kath Khabar
सूचना नदिएको भन्दै पशुपति क्षेत्र विकास कोषका प्रमुख कार्यकारी निर्देशकलाई १५ हजार जरिवाना

काठमाडौं, कार्तिक १८ ।  सूचना उपलब्ध नगराएको भन्दै पशुपति क्षेत्र विकास कोषका प्रमुख कार्यकारी निर्देशक डा घनश्याम खतिवडालाई रु १५ हजार जरिवाना गराइएको छ।

सार्वजनिक निकाय पशुपति क्षेत्र विकास कोषका प्रमुख डा खतिवडाबाट नेपालको संविधानको धारा २७ र सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ को उपदफा १ र २ ले प्रदान गरेको नेपाली नागरिकको सूचना माग्ने र पाउने हकको उलङ्घन भएको भन्दै उनलाई जरिवाना गरिएको राष्ट्रिय सूचना आयोगले जानकारी दिएको छ।

आयोगका प्रवक्ता कमला ओली थापाका अनुसार झापा जिल्ला, बाह्रदशी गाउँपालिका–६, हाल काठमाडौँ निवासी बलबहादुर प्रधानले पशुपति क्षेत्र विकास कोषको कार्यालयमा प्रमुख डा खतिवडा र सूचना अधिकारीसमक्ष आफूसँग सरोकार भएको सूचनाको माग गरेका थिए।

मागअनुसार कोषले सूचना उपलब्ध नगराएकाले सूचना पाउँ भनी आयोगसमक्ष पुनरावेदन गरेकामा सूचना मागकर्ताको पुनरावेदन साथै संलग्न कागजात, विपक्षीबाट प्राप्त लिखित जवाफ तथा यस आयोगबाट भएका पटकपटकका आदेशको समेत बेवास्ता गरेपछि उनलाई जरिवाना गरिएको हो। रासस

 

प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update