
काठमाडौं, कार्तिक २३ । तापक्रम घटे सँगै उपत्यकामा पछिल्लो समय चिसो सँगै वायु प्रदुषण समेत बढेको छ । उपत्यकाको न्युनतम तापक्रम ९.२ डिग्री सेल्सियस पुगेको छ। न्युनतम तापक्रममा कमी आएसँगै वायुको गुणस्तर कम भएको वातावरण विभागको तथ्यांकमा उल्लेख छ। उपत्यकाको हावामा हुने धुलोको कणहरु साँघ, बनेपा हुदै बाहिरने गर्छ, यदि हावा नलागेमा भने वायु प्रदुषण कायमै रहने विभागका अधिकारीहरु बताउनु हुन्छ । त्यसैले गर्दा उपत्यकाबासीले स्वास्थ्य सावधानी अपनाउनु आवश्यक रहेको छ । काठमाडौंको अधिकतम् तापक्रम २३.८ डिग्री सेल्सियस रहेको थियो। यसरी तापक्रममा कमी आएसँगै त्यस क्षेत्रको वायुको गुणस्तर स्वास्थ्यका हिसावले हानिकारक बनेको विभागको भनाइ छ।
यस्तै सोमबार २४ घण्टाको न्युनतम तापक्रम विराटनगरमा १५.२, सिमरा १५.५, काठमाडौंमा ९.२, धनगढी १५, महेन्द्रनगर १३ र जुम्लामा माइनस १ डिग्री सेल्सियस रहेको थियो।
वातावरण विभागको तथ्यांकअनुसार महेन्द्रनगर क्षेत्रको पार्टिकुलेट म्याटर २.५ माइक्रोनभन्दा सानो वायुको गुणस्तर १३८ माइक्रोग्राम प्रतिमिटर क्युव रहेको छ। यो स्वास्थ्यका हिसावले हानिकारक मानिन्छ। विभागले १०० देखि १५० माइक्रोग्राम प्रतिमिटर क्युवसम्मलाई अस्वस्थकर वायु मापन गरेको छ। यस्तो धुलोले मुटु, फोक्सोसम्बन्धी विरामी, बृद्धबृद्धा र वालवालिकालाई बढी हानि पुर्याउने चिकित्सकहरुको भनाइ छ।
विश्व स्वास्थ्य संगठनले पार्टिकुलेट म्याटर (पीपीएम) २.५ माइक्रोनभन्दा सानो वायुको गुणस्तर २५ माइक्रोग्राम प्रतिमिटर क्युवसम्म मात्र स्वास्थ्यका लागि उपयुक्त हुने भन्दै मापदण्ड तोकेको छ भने सरकारले भने ४० माइक्रोग्राम प्रतिमिटर क्युवसम्मलाई राष्ट्रिय मापदण्ड तय गरेको छ।
सोमबार विहानसम्म सिमरामा १७६, विराटनगरमा १६६, पोखरामा १६०, किर्तीपुर ८६ र भक्तपुरमा ६६ माइक्रोग्राम प्रतिमिटर क्युवसम्म मापन भएको छ। यसरी एकसातामै चिसो बढेपछि वायु प्रदूषण बढेपछि विहान–वेलुकी धेरै हिँडडुल नगर्न र मास्क अनिवार्य प्रयोग गर्न वातावरण विभागले अनुरोध गरेको छ।