
काठमाडौं, कार्तिक २३ । प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि आज मंगलबार नयाँ दिल्ली जाँदै हुनुहुन्छ । भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उहाँ २३ देखि २६ कात्तिकसम्मको भारत भ्रमणका लागि जान लाग्नु भएको हो ।
भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम छ ।
उहाँलाई भोलि मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ ।
नेपालका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई विसं २०२६ मा पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट विभूषित गरेको अभिलेख रहेको छ । नयाँ दिल्ली भ्रमणका क्रममा प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्च पदस्थ अधिकारीसँग समेत भेटवार्ता गर्नु हुने बताइएको छ ।