
काठमाडौं, कार्तिक २३ । प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणमा जानु भएको छ । भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा शर्मा मंगलबार बिहान नयाँ दिल्ली प्रस्थान गर्नु भएको हो ।
भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उहाँ २३ देखि २६ कात्तिकसम्मको भारत भ्रमणका लागि जानु भएको हो ।प्रधानसेनापति भएपछि शर्माको यो पहिलो विदेश भ्रमण हो। प्रधानसेनापति शर्मा ९ सदस्यीय सैनिक टोलीको नेतृत्व गर्दै सेनाको जहाजमा भारतको राजधानी नयाँदिल्ली जानु भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गर्नु भएको छ ।
भारत प्रस्थान गर्नुपूर्व प्रधान सेनापति महारथी शर्मालाई सोमबार जंगी अड्डामा सम्मान गारत अर्पण गरिएको थियो । औपचारिक बिदाई कार्यक्रममा नेपालका लागि भारतीय राजदुत महामहिम विनय मोहन क्वात्रा र अन्य मित्र राष्ट्रका सैनिक सहचारीहरुको सहभागिता रहेको नेपाली सेनाले जनाएको छ।
भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम छ । उहाँलाई भोलि मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ । नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ । नयाँ दिल्ली भ्रमणका क्रममा प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्च पदस्थ अधिकारीसँग समेत भेटवार्ता गर्नु हुने बताइएको छ ।
नेपालका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई विसं २०२६ मा पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट विभूषित गरेको अभिलेख रहेको छ ।