
ललितपुर, कार्तिक २५ । ललितपुर जिल्लाको ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित सडकमा बा.६ ख १९३३ नम्बरको ट्रकले बा.६७ प ४६८३ नम्बरको स्कुटरलाई आज बिहीबार बिहान ठक्कर दिँदा स्कुटर चालक काभ्रे साँगा घर भएका २१ वर्षीय सोप्नील लामाको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बीएण्डबी अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सप्तरीको बलानबिहुल गाउँपालिका–६ सेहरास्थित सडकमा स.७ प १२१७ नम्बरको मोटरसाइकल बुधबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय दिलिप कुमार राम र मोटरसाइकल चालक सोही गाउँपालिका–२ बस्ने २२ वर्षीय रन्जित कुमार मण्डल रहेका छन् । उक्त मोटरसाइकलले पैदलयात्री दिलिप कुमारलाई ठक्कर दिँदा भएको दुर्घटनामा परी गम्भीर घाइते भएका दिलिप कुमारको उपचारको लागि सप्तर्षि अस्पताल लहानतर्फ लैजाने क्रममा बाटोमै र रन्जितको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही गाउँपालिका–२ बस्ने २३ वर्षीय त्रिभुवन पासवानको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।