
काठमाडौं, कार्तिक २८ । रौतहटको चन्द्रनिगाहपुरबाट सदरमुकाम गौर जाँदै गरेको कार दुर्घटना हुँदा त्यसमा सवार ४ जना भारतीय नागरिकको मृत्यु भएको छ । गौर–चन्द्रनिगाहपुर खण्डको यमुनामाई गाउँपालिकास्थित झुन्खुन्वा चोकनजिक शनिबार राति भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरू मध्ये दुई जना भारतको बिहार बखरी बेतौना भन्ने गाउँका अरुन साह र दिनानाथ साह रहेका छन् भने अन्य दुई जनाको नाम सनाखत नभएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।
राति करिब सवा १० बजेको समयमा यू.के.१२ सी २९०० नम्बरको भारतीय कार झुन्खुवा चौकदेखि उत्तरपट्टि रहेको पेट्रोलपम्प नजिक तीव्र गतिमा आइरहेको बेला अनियन्त्रित भई सडकपेटीभन्दा करिब २० मिटर तल पानीमा डुबेको थियो । त्यसपछि कारभित्र रहेका चारै जना बाहिर निस्कन पाएनन् । कारको सबै भाग पानीमा डुबेपछि भित्रका मानिसहरु निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
मृतक चारै जनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको छ । दुर्घटनामा परेको कारलाई क्रेनको सहायताले राति नै पानीबाट निकालेर जिल्ला प्रहरी लगिएको छ ।