
काठमाडौं, कार्तिक २८ । रौतहटको चन्द्रनिगाहपुरबाट सदरमुकाम गौर जाँदै गरेको कार दुर्घटना हुँदा त्यसमा सवार ४ जना भारतीय नागरिकको मृत्यु भएको छ । गौर–चन्द्रनिगाहपुर खण्डको यमुनामाई गाउँपालिकास्थित झुन्खुन्वा चोकनजिक शनिबार राति भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारत विहारका २५ वर्षीय दिनानाथ साह, ३० वर्षीय अरुण साह, २८ वर्षीय दिलिप महतो र २७ वर्षीय अमित महतो रहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।
मृतक चारै जनाको खल्तीमा भेटिएको आइडी कार्डको आधारमा उनीहरुको भारत विहार राज्यको पूर्वी चम्पारण जिल्लास्थित पताही थाना वेतौना ठेगाना भएको खुलेको प्रहरीको भनाई छ । सनाखत भए सँगै प्रहरीले घटनाको बारेमा भारतीय प्रहरीलाई जानकारी गराएको छ ।
राति करिब सवा १० बजेको समयमा यू.के. १२ सी २९०० नम्बरको भारतीय कार झुन्खुवा चौकदेखि उत्तरपट्टि रहेको पेट्रोलपम्प नजिक तीव्र गतिमा आइरहेको बेला अनियन्त्रित भई सडकपेटीभन्दा करिब २० मिटर तल पानीमा डुबेको थियो । त्यसपछि कारभित्र रहेका चारै जना बाहिर निस्कन पाएनन् । कारको सबै भाग पानीमा डुबेपछि भित्रका मानिसहरु निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको थियो ।
दुर्घटनामा परेको कारलाई क्रेनको सहायताले राति नै पानीबाट निकालेर जिल्ला प्रहरी लगिएको छ ।