Kath Khabar
भक्तपुरको सिद्धपोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

काठमाडौं, कात्तिक २८ । भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित सिद्धपोखरीमा पौडी खेल्ने क्रममा डुबेर चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने २७  वर्षीय राजेश सुलुको शनिबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा राजेश डुबेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर र विपद् व्यवस्थापन समेतबाट खटिएको प्रहरीले उद्धार गरी उपचारको लागि भक्तपुर अस्पताल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

दाङको घोराही उपमहानगरपालिका–८ सौडी बस्ने ५४ वर्षीय बल बहादुर बिकको सोही ठाउँस्थित कुँवामा पानी तान्ने क्रममा खसेर डुब्दा शनिबार दिउँसो मृत्यु भएको छ । यसैगरी दाङ, तुलसीपुर उपमहानगरपालिका–१२ कौवापुर बस्ने कमल डाँगीको छोरा १३ वर्षीय कब्यासन डाँगीको कुलोमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । आफ्नै घर नजिक खेल्ने क्रममा कुलोमा डुबेर अशक्त भएका उनको तुलसी सिटी हस्पिटलल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ दुगुना गाउँ बस्ने २५ वर्षीय बुद्ध तामाङको डुबेर शनिबार साँझ मृत्यु भएको छ । सोही ठाउँस्थित ड्राइपोर्टबाट काम गरी फर्कने क्रममा दुगुनास्थित बाटोबाट करिब ३ मिटर तल खोलामा खसेर डुब्दा अशक्त भएका उनको सिन्धुसदाबहार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update