
काठमाडौं, कार्तिक २९। फ्रान्समा शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको प्रतिमा बन्ने भएको छ । फ्रान्सका प्रख्यात कविको शालिक ललितपुर महानगरपालिकाभित्र र एक सय दुई वर्षका वाङ्मय शताब्दी पुरुष, संस्कृतिविद् सत्यमोहन जोशीको प्रतिमा फ्रान्सको एक शहरमा राख्ने सम्झौता भएको ललितपुर महानगरिपालिकाले जानकारी दिएको छ ।
ललितपुर महानगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘फ्रान्सका प्रख्यात कविको शालिक ललितपुर महानगरपालिकाभित्रको कुनै स्थानमा र एक सय दुई वर्षका वाङ्मय शताब्दी पुरुष, संस्कृतिविद् सत्यमोहन जोशीको प्रतिमा फ्रान्सको एक शहरमा राख्ने सन्दर्भ लगायतका समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।’
साहित्य र संस्कृतिको क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वको शालिक तथा प्रतिमा स्थापनाले अपनत्व र घनिष्टता वृद्धिमा सहयोग पुर्याउने महानगरले जनाएको छ ।
महानगरपालिकाका मेयर चिरिबाबु महर्जन मेयरहरुको सम्मेलनमा सहभागी हुन फ्रान्स पुग्नु भएको छ । मेयर महर्जनले शताब्दी पुरुष जोशीको प्रतिमा फ्रान्सको एक शहरमा बनाउने समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम समेत रहेको छ । मेयर महर्जनले नेपालका २५ भन्दा बढी स्थानीय तह र फ्रान्सका विभिन्न स्थानीय तहहरुबीच भगिनी सम्बन्ध स्थापनाका लागि समन्वय गर्नु हुनेछ।