Kath Khabar
चालक अनुमतिपत्रको अनलाइन आवेदन कार्यालय समयमा भर्न नपाइने



काठमाडौं, कात्तिक २९। सेवाग्राहीले कार्यालयका समयमा चालक अनुमतिपत्रको अनलाइन आवेदन भर्न नपाउने भएका छन् । प्रणालीमा चाप बढी भएकाले तत्कालका लागि बिहान १० देखि अपराह्न ५ बजेसम्मका लागि सेवा चालु नगरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

देशभरका यातायात व्यवस्था कार्यालयहरूले यही प्रणालीबाट काम गर्ने र सेवाग्राहीले फारम भर्दा दोहोरो लोड भएको विभागका प्रवक्ता डा लोकनाथ भुषालले बताउनुभयो। उहाँका अनुसार अहिले प्राविधिकले लोड ब्यालेन्सका लागि काम गरिरहेका छन् । उहाँले भन्नुभयो, “यो साता सेवाग्राहीले बिहान र साँझ मात्रै फारम भर्न पाउनुहुन्छ ।”

सेवाग्राहीले अनलाइन फारम भरेपछि फोटो खिचाउन, मेडिकल रिपोर्टलगायत कामका लागि कार्यालयमा जानुपर्छ । दुई वर्षदेखि नै सेवा बीचबीचमा अवरुद्ध हुँदा अनुमतिपत्रका लागि फारम भर्न नपाएका सेवाग्राहीले अहिले खुल्नासाथ भरिरहेका छन् ।

देशभरका १२ कार्यालयमा दैनिक लाखौँ सेवाग्राही आइरहेको र त्यो चापले गर्दा प्रणालीमा समस्या आएको प्रवक्ता डा भुषालले जानकारी दिनुभयो । विभागले गत वर्षदेखि अनलाइन आवेदन सुरु गरेको थियो ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  २१:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update