Kath Khabar
अनलाइन आवेदन प्रणालीमा समस्या आए सँगै चालक अनुमतिपत्रको अनलाइन आवेदन भर्न नपाइने

काठमाडौं, कार्तिक ३० ।  सेवाग्राहीले कार्यालय समयमा चालक अनुमतिपत्रको अनलाइन आवेदन भर्न नपाउने भएका छन् । अनलाइन आवेदन प्रणालीमा चाप बढी भएकाले तत्कालका लागि बिहान १० देखि अपराह्न ५ बजेसम्मका लागि सेवा चालु नगरिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

विभागका सूचना अधिकारी डा. लोकनाथ भूसालले देशभरका यातायात व्यवस्था कार्यालयहरूले यही प्रणालीबाट काम गर्ने र सेवाग्राहीले फारम भर्दा दोहोरो लोड भएको कारणले गर्दा सेवा कार्यालय समयमा अनलाइन सेवा चालु नगरिएको बताउनु भयो ।  

अहिले प्राविधिकले लोड ब्यालेन्सका लागि काम गरिरहेका विभागले जनाएको छ । विभागका अनुसार सेवाग्राहीले यो हप्ता बिहान र बेलुकामात्रै फारम भर्न पाउने भएका छन् ।

सेवाग्राहीले अनलाइन फारम भरेपछि फोटो खिचाउन, मेडिकल रिपोर्टलगायत कामका लागि कार्यालयमा जानुपर्छ ।

देशभरका १२ कार्यालयमा दैनिक लाखौँ सेवाग्राही आइरहेको र त्यो चापले गर्दा प्रणालीमा समस्या आएको विभागले जनाएको छ । विभागले गएको वर्षदेखि अनलाइन आवेदन सुरु गरेको थियो।

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update