Kath Khabar
गमगढी अग्निपीडित प्रत्येक परिवारलाई नगरपालिकाले ५० हजार राहत दिने
फाईल

काठमाडौं, मंसिर १ । मुगुको गमगढीका आगलागी पीडित परिवारलाई छायाँनाथ रारा नगरपालिकाले राहतस्वरुप ५० हजार रुपैयाँ नगद प्रदान गर्ने भएको छ । आगलागीका कारण २१ घरमा क्षति पुग्नुको साथै करिब ७५ परिवार विस्तापित भएको नगरपालिकाले जानकारी दिएको छ ।

नगरपालिकाले अग्नि पीडितलाई बुधबार नगदसहित राहत वितरण गर्ने तयारी गरेको छ। बुधबार दिउँसो प्रति परिवारलाई ५०–५० हजार रुपैयाँसहित राहत वितरण गरिने तयारी गरिएको हो ।

यस्तै,  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलबार नै प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गर्ने बताउनु भयो । उहाँ आगलागी भएको क्षेत्रमा भने पुगनु भएको छैन । उहाँ आज गमगढी जाने तयारीमा रहेका पनि कर्णाली प्रदेश सरकारले जनाएको छ ।  

मंगलबार अग्नि पीडितलाई रेडक्रसले  त्रिपाल वितरण गरेको थियो । पीडितहरुले त्रिपालमा रात कटाउनु भएको थियो । आगलागीका कारण आफनो घर गुमाएका पीडितहरु छर–छिमेकमा बास लिएर बस्नु भएको थियो ।

सोमबार राति १२ बजेदेखि लागेको आगोका कारण  गमगढीका २१  वटा घरमा पुरै क्षति भएको छ । स्थानीयबासिन्दा, सेना र प्रहरी तत्कालै आगो निभाउन जुटेकाले मध्यराति आगलागी भए पनि मानवीय क्षति हुनबाट जोगिएको थियो । स्थानीय ठिल्ले लामाको घरमा पूजाका लागि बालिएको दियोबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको छ । 

आगलागीबाट भएको क्षतिबारे यकिन विवरण भने अहिले सम्म आएको छैन ।

 

प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update