Kath Khabar
उपत्यकासहित धेरै स्थानको मौसम धुम्मियो, हिमाली भेगमा भने हिमपात हुने

काठमाडौं, मंसिर २ । उपत्यकासहित मुलुकका धेरै स्थानको मौसम धुम्मिएको छ । जसले गर्दा पारिलो घाम लाग्न सकेको छैन ।  हाल नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भू(भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महशाखाले जनाएको छ । यस्तै चिसो भने अघिल्ला दिनहरुको जस्तै बिहीबार पनि रहेको छ । काठमाडौंको न्यूनतम तापक्रम सात डिग्रीसेल्सियस र जुम्लाको न्यूनतम तापक्रम माइनस चार डिग्रीसेल्सियस रहेको छ ।

चिसो स्थिर रहे पनि पानी भने नपर्ने बताइएको छ । बिहीबार काठमाण्डौको न्यूनतम तापक्रम भने बढेको छ । बुधबार बिहानको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री सेल्सियस रहेकोमा आज ९ डिग्री सेल्सियस पुगेको छ । गएराति आकाश नखुलेकाले न्यूनतम तापक्रम बढेको हो । रातको समयमा बादल लागे न्यूनतम तापक्रम बढ्छ । न्यूनतम तापक्रम बढे पनि आज अधिकतम तापक्रम भने घट्ने मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार काठमाण्डौको आजको अधिकतम तापक्रम २५ देखि २६ डिग्री सेल्सियसमा झर्ने सम्भावना छ ।

बिहीबार पारिलो घाम लाग्ने सम्भावना नरहेकाले अधिकतम तापक्रम घट्ने भएको हो । बुधबार अधिकतम तापक्रम २९ डिग्री सेल्सियस थियो । बिहीबार काठमाण्डौ उपत्यकासहित वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने बताइएको छ  ।

अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । पर्सि शनिवारसम्म नै यो प्रणालीको प्रभाव नेपालमा रहने बताइएको छ ।

यो प्रणालीको प्रभावकै कारण प्रदेश–१ र २ को मौसम भोलि भने आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना छ । यस्तै, बिहीबार उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपात हुने बताइएको छ । मौसमविद्का अनुसार हिमपातको सम्भावना रहेकाले पर्वतारोहणमा जाँदा मौसमको अवस्था बुझेर मात्रै जान पर्वतारोहीलाई सुझाव छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update