काठमाडौं, मंसिर २। चर्चित कलाकार पल्पसा डंगोल चम्सुरी अभिनयमा फर्किनुभएको छ। दुवै मिर्गौला फेल भएर अस्वस्थ भएपछि उहाँ अभिनयबाट टाढा रहनुभएको थियो। झण्डै ६ महिनापछि हास्य टेलिसिरियल ‘मेरी बास्सै’ मार्फत अभिनयमा फर्किनुभएको छ।
मिर्गौलामा समस्या देखिएपछि उहाँले ५ वर्षदेखि डायलाइसिस गराउँदै आउनु भएको थियो। स्वास्थ्य अवस्थामा सुधार आएपछि आफू ‘मेरी बास्सै’मा फर्किएको पल्पसाले बताउनुभएको छ । मेरी बास्सै टिमले चम्सुरीलाई फुलै फुल ओच्छ्याएर स्वागत गरेको प्रोमो प्रसारण गरेको छ भने चम्सुरीले पनि सामाजिक सञ्जालमा ‘मेरी बास्सै हेर्नुहोला, म भेट्न आउँदै छु' भनेर लेख्नुभएको छ ।
उहाँको स्वास्थ्य अवस्थाबारे टिमका कसैले केही खुलाएका छैनन् । मङ्गलवार प्रसारण भएको ७२९ भागको प्रारम्भमै उहाँले स्वास्थ्यको कारण मेरी बास्सैमा आउन नपाएको भन्दै दर्शकको मायाका कारण यतिसम्म भएको बताउनुभएको छ । उहाँले स्वास्थ्यलाई ख्याल गर्दै मेरी बास्सैमा आफू आइरहने बताउनुभएको छ ।