
काठमाडौं, मंसिर ३। काठमाडौं महानगरपालिका-११ स्थित काठमाडौं सिटिसि मलको पाँचौ तल्लामा रहेको सबिता खनालको कस्तुरी किचेन फास्ट फुडमा विद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा २ थान फ्रिज, इलेक्ट्रिक बामर, खाद्यान्न, रेष्टुरेन्ट डेकोरेसन लगायतका सामानहरू जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बझाङको थलारा गाउँपालिका-५ खोलीस्थित स्वास्थ्य कार्यालय खोलीको भवनमा विद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा कार्यालयमा रहेका कागजात, ५ थान कम्प्युटर, ५ थान सीपीयु, १ थान डिजिटल क्यामेरा, औषधी, कुर्सी टेबल लगायतका सामानहरु जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
धनकुटाको महालक्ष्मी नगरपालिका-५ राम बजार बस्ने कुल बहादुर तामाङ सहित २ जनाको घरमा शुक्रबार बिहान आगलागी भएको छ। आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।