काठमाडौं, मंसिर ४ । शनिबारबाट काठमाडौं उपत्यका लगायत मुलुकको विभिन्न स्थानमा आकाश खुल्न थालेको छ । तर, पारिलो घाम लाग्न भने अझै केहि दिन लाग्ने छ । हिजो र अस्ति धुम्म भएको आकाश बिस्तारै खुल्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव कायमै रहेकाले आज दिनभर आकाश आंशिक रुपमा मात्रै खुल्नेछ ।
शनिबार बेलुकीभन्दा आइतबार अझै बढी आकाश खुल्नेछ ।
शनिबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई ठाउँमा सामान्य बद्ली भइ हल्का वर्षाको सम्भावना छ । यस्तै राति उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार भोलि वाग्मती, गण्डकी र प्रदेश–१ को उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हल्का हिमपात हुनेछ । यस्तै न्यूनतम तापक्रम घट्न थालेपछि देशभर चिसो बढेर गएको छ । काठमाण्डौको न्यूनतम तापक्रम हिजोभन्दा आज घटेको छ ।
शक्रुबार बिहान काठमाण्डौको तापक्रम ११ दशमलव १ डिग्री सेल्सियस रहेकोमा शनिबार बिहान सोहि तापक्रम मापन गरिएको छ ।