
काठमाडौं, मंसिर ४ । चक्रपथ बाहिरका अधिकांश स्थानीय क्षेत्रमा सडक कालोपत्र हुन नसक्दा स्थानीयले दिनहुँ जस्तो समस्या भोग्नु परेको छ । स्थानीय क्षेत्रमा उत्पादित तरकारी, दुध, फलफूल लगायतका सामग्री चक्रपथ भित्राउन समेत समस्या भएको स्थानीयहरुको भनाई छ । यस्तै उहाँहरुले बिरामी हुदाँ समेत समय मै एम्बुलेन्स सेवा समेत पाउन नसकेको गुनासो गर्नु भएको छ ।
पछिल्लो समय पाँच वर्षका लागि स्थानीय सरकार निर्माण बने पनि उनीहरुले भौतिक पूर्वाधार विकासमा चासो नदिदाँ अति आवश्यक बनेको सडक कालोपत्र हुन नसकेको स्थानीयको आरोप । करिब २० वर्ष भन्दा बढी भइ सक्यो कीर्तिपुर नगरपालिकाको दक्षिण क्षेत्रमा रहेको सडक हालसम्म कालोपत्र हुन नसकेको टौदहका स्थानीय पवन केसीले बताउनु भयो । ‘निर्वाचन अघि र पछि निर्वाचित अधिकारीहरु आएर सडक, सडक बत्ती लगायतका भौतिक पूर्वाधारहरुको उचित व्यवस्थापन गर्दिने आश्वासन दिए पनि हालसम्म सडकहरु जीर्ण अवस्थामा रहेको छ’, उहाँले काठखबर सँग भन्नुभयो, ‘ विकास निर्माण गर्ने भनि बैठक गरी नगरपालिकाका अधिकारीहरु भत्ता लिने गर्छन् तर काम गर्दैनन् ।’
कीर्तिपुर नगरपालिका ७० प्रतिशत भन्दा बढी सडकहरु कालोपत्र गर्न बाँकी रहेको स्थानीयको भनाई छ ।
यस्तै दक्षिणकाली नगरपालिका, चन्द्रागिरी नगरपालिका, नागार्जुन नगरपालिका, शंखरापुर नगरपालिका, महालक्ष्मी नगरपालिका लगायतका क्षेत्रमा समेत सडक, खानेपानी, ढल, सडक बत्ती लगायतका पूर्वाधारहरुको अभाव रहेको बताइएको छ । संघका नेतृत्वकर्ता जस्तै स्थानीय तहका नेतृत्व गर्ने मेयर, उपमेयरहरुले पनि आश्वासन मात्र दिने काम नगर्ने प्रवृत्ति रहेको टौदहका एक स्थानीयले बताउनु भयो । ‘स्थानीय तहमा नेतृत्व गर्ने मेयर–उपमेयरले पनि काम नगर्ने तर म विकासका सम्पूर्ण काम गरिदिन्छु भनेर झुटो आश्वासन दिने गरेको उहाँको भनाई छ । यस क्षेत्र वरपर सडक कालोपत्र नहुँदा दुर्घटनाको जोखिम बढेको, एम्बुलेन्स सेवा लिन नसकेको तथा वर्षायाम भने सडक समेत सञ्चालन हुन नसक्ने अवस्था विद्यमान रहेको पाईन्छ । चक्रपथ बाहिरका अधिकांश स्थानीय तहमा मुल सडक बाहेक बस्तीहरुमा जाने सडक कालोपत्र हुन सकेको छैन । जसले गर्दा स्थानीयहरु सहज रुपमा सवारी साधन सञ्चालन गर्न पाएको पाइदैन ।