Kath Khabar
विवादपछि पतञ्जलीको स्पष्टीकरण :भवन मात्र उद्घाटन गरिएको हो, टीभी होइन

काठमाडौं, मंसिर ६। भारतीय योग गूरु रामदेवले नेपालमा टेलिभिजन च्यानल दर्ताबिना सञ्चालन गरेको भन्नेबारे विवाद आएपछि पतञ्जलि योगपीठ नेपालले टेलिभिजन सञ्चालन नगरिएको स्पष्टीकरण गरेको बताएको छ ।  योगपीठका आइटी इन्चार्ज सन्दीप वाल्मीकिले दर्ताको प्रक्रियामा रहेको र टेलिभिजन सञ्चालनमा नआइसकेको बताउनु भयो।

कम्पनी रजिस्टारको कार्यालयबाट प्रमाणीकरण लिइएको भने विज्ञप्तिमा छ। थप अनुमतिको लागि प्रक्रिया अगाडि बढाइएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘‘हाल टिभी प्रसारण गरिएको छैन, प्राविधिक तयारीको क्रममा मात्र रहेको हो। सम्माननीय प्रधानमन्त्री ज्यूको उपस्थितिमा श्रद्धेय विश्वविख्यात योगऋषि स्वामी रामदेव जी महाराज र श्रद्धेय आयुर्वेद शिरोमणि आचार्य वालकृष्ण जी महाराजको समुपस्थितिको महत्त्वपूर्ण अवसरमा शुभसाईतको लागि टिभी भवनको उद्घाटन गरिएको हो।’’

सरकारको नीति, नियम कानूनको अधीनमा रही नियमानुसार अनुमति प्राप्त भएपश्चात् मात्र टिभी सञ्चालन हुने योगपीठले जनाएको छ।

आफूहरू विशुद्ध सेवामूलक सामाजिक संस्था भएको दाबी गर्दै पतञ्जलिले हतारमा केही मिडियाले स्पष्ट नबुझी भ्रामक सूचना प्रसार गरेको आरोप लगाएको छ। शुक्रबार प्रधानमन्त्री देउवाले प्रचण्ड, माधव नेपाललगायतको उपस्थितिमा ‘पतञ्जलि नेपाल’ र ‘आस्था नेपाल’ टिभी च्यानलको उद्घाटन गर्नु भएको थियो।

प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update