Kath Khabar
बेहोस भेटिएका न्युरो सर्जनको मृत्यु



काठमाडौँ, मंसिर ७। बेहोस अवस्थामा फेला परेका काठमाडौँको टोखा निवासी एक चिकित्सकको मृत्यु भएको छ ।

ग्राण्डी टावरको माथिल्लो तलामा रहेको आफ्नै कोठामा सोमबार बेहोस अवस्थामा फेला परेका न्युरोसर्जन डा सुवास लोहनीको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ। लोहनी नेशनल न्यूरो सेन्टरमा कार्यरत हुनुहुन्थ्यो ।

महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार शव परीक्षणका लागि आज महाराजगञ्जस्थित शिक्षण अस्पतालमा ल्याइएको छ ।

डा लोहनी आफैँले बेहोस हुने औषधि इन्क्सन लिएको पाइएको प्रहरीले जनाएको छ । “ओभरडोज भएर मृत्यु भएको जस्तो देखिन्छ”, एक प्रहरीले भन्नुभयो, “सुसाइड नोटसमेत फेला परेकाले आत्महत्या गरेको अनुमान गरिएको छ ।” उहाँले शव परीक्षणको प्रतिवेदन आएपछि कारण यकिन हुने पनि बताउनुभयो ।

सोमबार दिउँसो १ बजेसम्म फोन गर्दा ठीक रहेको र तीन बजे बेहोस अवस्थामा फेला परेको परिवारको भनाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ। उहाँमा एक हप्ता अघि मात्रै कोभिड-१९ को सङ्क्रमण भएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा केही अघिदेखि नै डा लोहनी एक्लै बोल्ने, बस्ने गरेको पाइएको छ। साहित्य क्षेत्रमा समेत रुचि राख्ने डा लोहनी सञ्चारमाध्यममा लेखसमेत लेख्नुहुन्थ्यो ।

(रासस)

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  २१:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update