काठमाडौँ, मंसिर १२ । जाजरकोटमा बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ। अरु २८ जना घाइते भएका छन्।
जाजरकोटका डिएसपी मधुकुमार थापाका अनुसार आइतबार बिहान साढे २ बजेतिर भेरी नगरपालिका–१३ बराचउरमा बस पल्टिएर दुर्घटना भएको हो।
नेपालगञ्जबाट जाजरकोटको कालिमाटी जाँदै गरेको ना६ख २७५७ नम्बरको बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको हो।
प्रहरीका अनुसार मृतक पाँच मध्ये तीन जनाको सनाखत भएको छ। मृत्यु हुनेमा जाजरकोटको नलगाढ नगरपालिका–३ का शेरबहादुर परियार, रुकुम पश्चिमको आठबीस नगरपालिका–४ कि बालिका विद्या शाही र राजविराज सप्तरीका गंगाराम यादव रहेका छन्। अरु दुईजनाको पहिचान हुन बाँकी रहेको प्रहरीको भनाई रहेको छ ।
घाइते मध्ये एक बालिकासहित ९ जना महिला र १९ जना पुरुष छन्। घाइतेहरुको खलंगा अस्पतालमा उपचार भइरहेको छ।