
काठमाडौं, मंसिर १२ । काठमाडौं उपत्यका सहित मुलुकभर चिसो बढेको छ । सोहि क्रममा सबैभन्दा बढी चिसो जुम्लामा मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जुम्लाको पछिल्लो २४ घण्टाको न्यूनतम तापक्रम माइनस तीन डिग्री सेल्सीयस र अधिकतम तापक्रम १५ डिग्री सेल्सीयस मापन गरेको छ । यस्तै काठमाडौं उपत्यकाको तापक्रम न्यूनतम तापक्रम सात डिग्रीसेल्सीयस र अधिकतम तापक्रम २० डिग्रीसेल्सीयस मापन गरेको छ ।
दिउँसो अर्थात् बिहानको १०÷११ बजेदेखि रातिको ६ बजेसम्म देशको पहाडी भू–भागहरुमा आँशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती अर्थात् बेलुका ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागहरुमा आँशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। राती गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
मौसमविदुका अनुसार तत्काल हावा चल्ने र पानी पार्ने कुनै पनि मौसमी प्रणाली छैन । तत्काल पश्चिमी वायुको प्रभाव रहने नदेखिएकाले केही दिन मौसम धुम्म नै रहनेछ । यता चिसोसँगै प्रदूषण पनि बढेको छ । सहरीकरण, जथाभाबी आगो बाल्नु तथा फोहोर जलाउनु, पानी नपर्दा धुलो बढ्दै गएकाले प्रदूषणको मात्रा बढेको वातावरण विभागले जनाएको छ ।