Kath Khabar
अपडेट : जाजरकोट दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्यो

जाजरकोट, मंसिर १२ ।  जाजरकोट बस दुर्घटनामा ज्यान गुमाएका पाँच जनाकै पहिचान खुलेको छ ।

नेपालगञ्जबाट रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको राडिबजारका लागि छुटेको ना ६ ख २७५७ नम्बरको बस गएराति जाजरकोट–९ कुदु बराहचौरमा दुर्घटना भएको थियो ।  दुर्घटनामा दुई महिला, दुई जना पुरुष र एक जना बालिकाले ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा कुशे–९ जाजरकोटकी १८ वर्षीया अनिला नेपाली, आठबीसकोट–५ रुकुम पश्चिमकी २४ वर्षीया सन्ध्या मल्ल शाही, आठबीसकोट–४ की चार वर्षीया दिव्या शाही, नलगाड–३ करुवा जाजरकोटका २६ वर्षीय शेरबहादुर परियार र सप्तरी राजविराजका ४० वर्षीय गंगाराम यादव रहेका प्रहरीले जनाएको छ ।

बसमा ३२ जना यात्रु रहेकामा २७ जना घाइते भएका थिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज पठाउने तयारी भएको र अन्यको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । बस सडकबाट झण्डै २ सय मिटर तल खसेको थियो  ।

प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update