काठमाडौं, मंसिर १३ । हुम्लामा सोमबारदेखि खाद्यन्न ढुवानी हुने भएको छ । एक सातादेखि भोकमरीको सामना गर्दै आएको नाम्खा गाउँपालिका ६ लिमीमा खाद्यन्न ढुवानी गरिने जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।
खाद्यन्न ढुवानी गर्नका लागि आइतबार नै सेनाको हेलिकप्टर हुम्ला सदरमुकाम सिमकोट पुगेको छ ।
गृह मन्त्रालयको निर्देशन अनुसार रक्षा मन्त्रालयले आइतबार सेनाको एमआई १७ हेलिकोप्टर पठाएको थियो । नेपाली सेनाले जिल्ला प्रशासन हुम्लाको समन्वयमा हेलिकोप्टरमार्फत खाद्यन्न ढुवानी गर्न लागेको हो ।
हेलिकप्टरले सिमकोटमा रहेको ३५ क्विन्टल चामल लिमी क्षेत्रमा पुर्याउने छ । यस्तै, हिल्सामा रहेको चार सय ६१ क्विन्टल पिठो र पाँच क्विन्टल चामल पनि लिमी पुर्याउने तयारी छ । त्यसपछि लिमीमा रहेका १ सय ४७ परिवारलाई खाद्यान्न वितरण गरिने जिल्ला प्रशासन कार्यालय हुम्लाले जानकारी दिएको छ ।
सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले आइतबार खराब मौसमका कारण सुर्खेतबाट हेलिकोप्टर साँझ पठाइएको बताउनु भएको छ ।
जिल्ला प्रशासन कार्यालय हुम्लाका अनुसार सिमकोट खाद्य संस्थान र चीनले पठाएको खाद्यन्न ढुवानी गरिने जनाएको छ ।