
बेनी, मंसिर १४ । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा वडा सदस्यसहित ४ जनाको मृत्यु भएको छ।
बेनीबाट बेगको सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप सोमबार साँझ पाँच बजेतिर औंलामा दुर्घटना हुँदा चालक र महिला वडासदस्यसहित ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मृत्यु हुनेमा ३० वर्षीया गौमाया विक, जिप चालक ३५ वर्षीय दुतबहादुर थापा, ३० वर्षीय खिमु पुन र ४५ वर्षीय खिमानन्द शर्मा रहेको प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिनु भयो।
प्रहरीका अनुसार गौमाया विक रघुगंगा गाउँपालिका–१ बेगकी निर्वाचित वडा सदस्यसमेत हुन्। पुन र शर्माको घटनास्थलमा तथा चालक थापा र विकको उपचारका लागि बेनी ल्याउँदा गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ५४ वर्षीय बलबहादुर विक, २३ वर्षीय मनोज पुन, २० वर्षीय भीम फगामी र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जा घाइते भएका छन्। उनीहरुलाई बेनी अस्पतालबाट थप उपचारका लागि कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ।
बोलेरो जिप सडकबाट करिब दुई सय मिटर तल जंगलमा खसेको थियो। घाइतेलाई स्थानीय, युवा, प्रहरी, जनप्रतिनिधिले उद्धार गरी उपचारका लागि बेनी ल्याएका थिए। दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।