
काठमाडौं, मंसिर १५ । पश्चिमी वायुको कारण नेपालको मौसममा बुधबार प्रभाव पर्ने देखिएको छ । यो सँगै विभिन्न प्रदेशमा हिमपात हुने भएको छ । बुधबार बिहान मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली, अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव छ।
जसका कारण बुधबार देखि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसमविद्हरुले बताउनु भएको छ । मौसम सम्बन्धी विशेष बुलेटिन निकालेर मौसमविद्हरुले सो कुराको जानकारी दिनु भएको हो ।
मंगलबार साँझ नै विशेष बुलेटिन जारी गर्दै मौसम पूर्वानुमान महाशाखाले भनेको छ, ‘हाल पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको कारण मंगलबार साँझबाट नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली र अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ।’
अगाडि भनिएको छ, ‘सो प्रणालीका कारण भोलि बुधबारदेखि देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहनुको साथै उक्त प्रदेशका पहाडी तथा तराइका केही भूभागमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ।’
यो मौसम प्रणालीका कारण पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले सतर्कता अपनाउन आम नागरिकलाई मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उक्त प्रदेशका उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ।
यस्तै राति पनि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा तथा उक्त प्रदेशको उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।
हिमपात र वर्षाले चिसो थप बढाउने हुँदा विशेष सतर्कता अपनाउन पनि महाशाखाको आग्रह छ । नेपाल प्रवेश गरेको मौसमी प्रणालीका कारण अबका दिनमा तापक्रममा अझै घट्ने र चिसो बढ्न सक्ने महाशाखाले जनाएको छ ।