
काठमाडौं, मंसिर १६ । नेपालमा एकसाथ तीनवटा मौसम प्रणालीको प्रभाव कायमै छ। जसका कारण देशका विभिन्न स्थानमा मौसम बदली, वर्षा, हिमपात तथा चिसो बढ्ने क्रम जारी रहेको मौसमविद्ले बताउनु भएको छ। मौसमविद्का अनुसार हाल नेपालको मौसममा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली, अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको बताउनु भएको छ।
पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रका कारण बिहीबार देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मौसम सम्बन्धी विशेष बुलेटिन निकालेर बिहीबार देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने र हिमाली जिल्लामा भारी हिमपात हुन सक्ने जनाएको हो ।
सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भेगका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै सो प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा धेरै स्थानमा मध्यमदेखि भारी हिमपातको पनि सम्भावना छ।
बुलेटिनअनुसार राति पनि देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भेगका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने तथा यी प्रदेशका उच्च पहाडी र हिमाली भेगका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना छ।
मौसमविद् समीर श्रेष्ठका अनुसार यस क्रममा आज साँझतिर काठमाडौं उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना देखिएको छ। बिहीबार बिहान गरिएको मापनअनुुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस छ। बुधबार भने काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षअन्तर्गत मंगलबार (मंसिर १४) सम्मकै कम ६.३ डिग्री सेल्सियस पुगेको थियो।
मौसमविद्का अनुसार अन्य स्थानका आजको न्यूनतम तापक्रम अहिले बिहान पौने ९ बजे प्रकाशन हुनेछ। यो सँगै काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम पनि पुनः मापन गरिनेछ तर अघि बिहानको भन्दा फरक आउने सम्भावना खासै नहुने मौसमविद्को भनाइ छ। उहाँहरुले उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने बताँउदै पर्वतारोहणमा नजान समेत आग्रह गर्नु भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ। जसमा भनिएको छ, सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भेगका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको र देशका उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात सम्भावना र देशभर चिसो बढ्ने क्रममा समेत रहेकाले पर्वतारोहण, हवाई÷यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन हुन अनुरोध छ। तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुनसमेत अनुरोध छ।