Kath Khabar
आज मौसमा केही सुधार, भोलि पश्चिमी क्षेत्रमा पानी पर्ने

काठमाडौं, मंसिर १८ । शनिबारदेखि मौसममा केही सुधार भए पनि भोलि आइतबारदेखि पश्चिमी क्षेत्रबाट पानी पर्न सुरु हुने छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका एक÷दुई ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने अनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । शुक्रबार काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हल्का पानी परेको थियो । पानी परे सँगै चिसो काठमाडौं सहित विभिन्न क्षेत्रमा चिसो बढेको छ ।

शनिबार बिहान ७ बजे जारी महाशाखाको विशेष बुलेटिनअनुसार बंगालको खाडीको मध्य–पश्चिम भूभागमा शुक्रबार जवाद   नामको सामुद्रिक चक्रवात बनेको छ। उक्त चक्रवात आज बिहान भारतस्थित ओडिसाको तटीय क्षेत्रमा पुग्ने  र त्यसपछि उत्तर उत्तर पूर्वतर्फ सर्ने देखिएको छ।

यो चक्रवातले नेपालमा खासै ठूलो प्रभाव पार्ने सम्भावना नरहे नि यसको अप्रत्यक्ष प्रभावले आज रातिबाट प्रदेश नं १, २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्यसम्म बदली भई यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात तथा यी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। बुलेटिनमा अगाडि भनिएको छ, ‘आउँदो सोमबारबाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने देखिन्छ।’

भोलिबाट अर्को प्रणाली
महाशाखाले जारी गरेको विशेष बुलेटिनअनुसार भोलि आइतबारदेखि पुनः अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशमा पर्ने सम्भावना देखिएको छ। यसको प्रभावले आइतबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा र यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।


यस्तै सोमबार देशभर प्रभाव पारी केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

मौसम महाशाखाको विशेष बुलेटिनमा अगाडि लेखिएको छ, ‘आइतबार राति र सोमबार दिउँसो सो प्रणालीका कारण सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक÷दुई स्थानमा भारी हिमपातको समेत सम्भावना छ।

यो प्रणाली सोमबार रातिदेखि भने कमजोर बन्दै जाने महाशाखाले जनाएको छ।

यी मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाईरयातायतलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले सतर्कता अपनाउन आम नागरिकलाई अनुरोध पनि गरिएको छ।

बुलेटिनमा भनिएको छ, ‘मौसम पूर्वानुमान महाशाखाले माथि उल्लिखित दुवै प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको छ र आवश्यकताअनुसार विशेष बुलेटिन जारी गर्नेछ। यस महाशाखाबाट दैनिक जारी हुने तीनदिने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिनेछ । तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुनसमेत अनुरोध छ।’

महाशाखाले मौसमी प्रणालीहरुका कारण पर्वतारोहण, हवाईरयातायत लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसो वाट बच्न र हिमपातबाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन नागरिकमा आग्रह गरेको छ ।

 

प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update